Logo
Logo

रास्वपामा हिजोका काँग्रेसी, एमाले र माओवादीकै हालीमुहाली !


315
Shares

काठमाडौं । के रास्वपा पनि कांग्रेस, एमाले र माओवादीकै नियन्त्रणमा पुगेको हो ? किन पाखा लाग्दै छन् रैथाने कार्यकर्ता ? पुराना दलहरूविरुद्ध चर्को नारा घन्काएर उदाएको रास्वपा अहिले त्यही पुरानै प्रवृत्तिको सङ्ग्रहालय कसरी बन्दै छ ?  जिल्ला अधिवेशनदेखि संसद् र मन्त्रालयसम्मै हिजोका कांग्रेस, एमाले र माओवादीबाट ‘रिजेक्ट’ भएका पात्रहरूको हालीमुहाली देखिन्छ । यसले एउटा गम्भीर प्रश्न उब्जाएको छ– रास्वपा साँच्चै नयाँ शक्ति हो कि पुराना पात्रहरूलाई नयाँ रूप दिने ‘रिसाइक्लिङ केन्द्र’?

The current image has no alternative text. The file name is: 2083-02-31-THE-VIEW-RSP-Adhibeshan-THUMBNAIL.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको बेला उसले आफूलाई पुराना दलहरूको विकल्पका रूपमा प्रस्तुत गरेको थियो । कांग्रेस, एमाले र माओवादीले तीन दशकभन्दा बढी समय देशलाई बन्धक बनाएको आरोप लगाउँदै रास्वपाले ‘नयाँ राजनीति’को नारा बेच्यो । सुशासन, जबाफदेहिता र वैकल्पिक नेतृत्वको सपना देखाएर यसले लाखौँ मतदाताको भरोसा जित्यो । तर, पहिलो महाधिवेशनको सङ्घारमा आइपुग्दा एउटा गम्भीर प्रश्न उठेको छ- रास्वपा साँच्चै नयाँ शक्ति हो कि पुरानै राजनीतिक पात्रहरूको नयाँ आश्रयस्थल ?

‘नयाँ र पवित्र’ दलको नारा अलापेर नथाक्ने रास्वपाभित्र पुराना दलका ’रिजेक्टेड’ र अवसर नपाएका नेताहरूको कसरी कब्जा हुँदै छ भन्ने कुरा हालैका जिल्ला अधिवेशनहरुले प्रष्ट पार्छ । ‘नो नट अगेन’को चर्को नारा घन्काउँदै, पुराना दलहरूको बेथिति र सिन्डिकेटलाई सत्तोसराप गरेर उदाएको यो पार्टी आज आफैँभित्र त्यही पुरानो र कुरूप प्रवृत्तिको सङ्ग्रहालय बन्दै गएको छ । रास्वपाका मन्त्री र सांसदहरूले जतिसुकै परिवर्तनका डङ्का पिटे पनि, जिल्ला र प्रदेश अधिवेशनहरूको दृश्य हेर्ने हो भने यो कुनै नयाँ शक्ति नभएर पुराना दलबाट विस्थापित र अवसर नपाएका राजनीतिक गौडाहरूको सुरक्षित ओत लाग्ने थलो मात्रै भएको देखिन्छ । नितान्त नयाँ र सुध्रिएको पार्टी दाबी गर्ने रास्वपाको जिल्ला नेतृत्वमा हिजोका काँग्रेसी, एमाले र माओवादीकै पुराना खेलाडीहरूको हालीमुहाली छ ।

यसका केही उदाहरण हेरौँ–

जेठ २४ गते तनहुँ रास्वपाको अधिवेशन हुँदा चुनावी मैदानमा उत्रिएका दुवै प्रतिस्पर्धी ’खाँटी काँग्रेसी’ थिए । कांग्रेस तनहुँका पूर्वसचिव विश्वनाथ बास्तोला र गण्डकी प्रदेशका पूर्वसदस्य शेषरमण न्यौपाने भिडेका थिए, जसमा बास्तोलाले बाजी मारे । काँग्रेसबाट नवलपुरको मध्यविन्दु नगर सभापति खाइसकेका दोमनबहादुर भण्डारी अहिले रास्वपाको नवलपुर जिल्ला सभापति छन् । उता पाँचथरमा पनि काँग्रेसकै फिदिम नगर सभापति रहिसकेका प्रकाश गुरुङ रास्वपाको जिल्ला कमान्डर बनेका छन् । रास्वपा अर्घाखाँचीको जिल्ला सभापति चुनिएकी सीता पराजुली अरू कोही नभएर काँग्रेसकै पूर्व जिल्ला सदस्य हुन् ।

कांग्रेस मात्र होइन, एमाले र माओवादीमा अवसर नपाएर छटपटाएकाहरूका लागि पनि रास्वपा ‘रिसाइक्लिङ केन्द्र’ बनेको छ । २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट टिकट नपाएपछि बागी बनेकी पुनम शर्मा अहिले रास्वपाको बागलुङ जिल्ला सभापति बनेकी छन् । झापामा नेकपाबाट रास्वपा छिरेका ओम भण्डारी जिल्ला सभापति बनेका छन् भने धनकुटाका जिल्ला सभापति भुवन थापा हिजो माओवादी राजनीतिमा ‘लालसलाम’ गर्ने पात्र हुन् ।

उपसभापति र सांसद नै आयातित !

रास्वपाको तल्लो तहमा मात्र होइन, पार्टीको माथिल्लो तल्लामा समेत पुराना दलकै नेताहरूको हालीमुहाली छ । कांग्रेस, एमाले, माओवादी र मधेसकेन्द्रित दल त्यागेर घण्टीको छहारीमा ओत लाग्न आइपुगेका ४२ जना त सांसद नै बनिसकेका छन् । रास्वपाका उपसभापति एवं वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वयम् काँग्रेसी हुन् । हिजो आफूलाई ‘तीनपुस्ते काँग्रेसी’ भन्दै सगौरव छाती पिट्ने डा। वाग्ले कुनै समय हालका कांग्रेस सभापति गगन थापाका सबैभन्दा निकटका सारथि थिए । उनको रास्वपा प्रवेश र आजको मन्त्री पद वैकल्पिक राजनीतिको मोहले होइन, कांग्रेसभित्रको ‘टिकट युद्ध’ र अवसरवादको उपज थियो । २०७९ को निर्वाचनमा वाग्लेलाई काँग्रेसबाटै चुनाव लडाउन तत्कालीन महामन्त्री गगन थापा आफ्नो सुरक्षित क्षेत्र काठमाडौँ–४ समेत छाडेर सर्लाही जान तयार भएका थिए । तर, तत्कालीन सभापति शेरबहादुर देउवाले वाग्लेलाई टिकट नदिएर ‘ब्रेक’ लगाइदिए ।

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ–१ को उपनिर्वाचनमा पनि वाग्लेले काँग्रेसबाटै टिकटको आश गरेका थिए । तर, देउवाले पुनः गोविन्द भट्टराईलाई अघि सारेपछि रुष्ट बनेका वाग्लेले रातारात कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए । परिणामतः हिजोकै आफ्नै पार्टीका भट्टराईलाई झन्डै १५ हजार मतान्तरले हराउँदै उनी सांसद् बनेका थिए । 

रास्वपा छिरेपछि डा। वाग्लेले ‘३५ वर्षदेखि देश चलाउने कांग्रेस, एमाले र माओवादीले देश बर्बाद पारे’ भन्दै चर्को भाषण छाटिरहेका छन् । तर, विगतलाई फर्केर हेर्दा उनले एउटा कुरा बिर्सिएका छन्,  हिजो देश बिगार्ने भनिएकै कालखण्डमा उनी आफैँ सत्ताको मलाईदार पदमा थिए । वि। सं। २०७० सालमा सुशील कोइराला प्रधानमन्त्री बन्दा उनले राष्ट्रिय योजना आयोगको सदस्य बन्ने अवसर पाएका थिए । त्यस्तै २०७४ मा शेरबहादुर देउवाको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो नीति निर्माणको सर्वोच्च पदमा उनी नियुक्त भएका थिए ।

 बाँकी समाचार भिडियोमा

प्रतिक्रिया दिनुहोस्