Logo
Logo

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’


0
Shares

काठमाडौं । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएका बिबिसीले जनाएको छ । 

The current image has no alternative text. The file name is: war-stop.jpg

एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताएका छन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने बताए ।

शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो । लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जना मारिएको बताएको थियो भने इजरायलले हिज्बुल्लाहले चार सैनिक मारिदिएपछि आफूले जबाफी आक्रमण गरेको जनाएको थियो ।

इजरायल डिफेन्स फोर्सेस (आइडिएफ)ले हिज्बुल्लाह र इजरायलबीच युद्धविराम भएको पुष्टि गरेको छ। आइडिएफका प्रवक्ता एफी डेफ्ररिनले एउटा विज्ञप्ति जारी गर्दै भने, “हामी युद्धविरामको अवस्थामा छौँ । आईडीएफ आदेश पाएको खण्डमा लडाइँलाई पुनः जारी राख्न तयार छ ।”

अमेरिका र इरानबीच भएको सम्झौताअनुसार लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलका हवाई हमलाहरूमा दक्षिण भागमा गत राति कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको थियो ।

इजरायली सेनाले आफूले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहलाई निसाना बनाएको उल्लेख गर्दै आफ्ना चार जना सैनिकहरू मारिएको बताएको थियो ।

इजरायलका सैनिकको मृत्युबारे चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इट्मा बेन गभिरले उनकै शब्दमा सम्पूर्ण लेबनान जल्नुपर्ने बताएका थिए ।  लेबनानका राष्ट्रपति योसेफ आउनले इजरायली आक्रमणको विस्तारलाई खतरनाक भन्दै यसले तनाव चर्काउने चिन्ता जनाएका थिए ।  

गत फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली हमलामा मारिएपछि हिज्बुल्लाहले इजरायलमा रकेट हमलाहरू गरेको थियो । त्यसपछि मार्चको प्रारम्भमा इजरायल, अमेरिका र इरानबीचको युद्धमा लेबनान पनि तानिएको थियो ।

इजरायलले लेबनानभर बमबारी गरेको थियो र उत्तरी सीमाबाट हिज्बुल्लाह लडाकुलाई लखेट्ने उद्देश्यले कैयौँ भाग कब्जामा लिएका थियो ।

पछिल्लो द्वन्द्व यता लेबनानमा कम्तीमा तीन हजार ९१२ जना मारिएका र ११,६९९ घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण लेबनानका दर्जनौँ समुदायहरू पूर्ण रूपमा ध्वस्त हुँदा झन्डै १० लाख मानिस विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्