Logo
Logo

संस्कृतिको संरक्षणबाट नेपाल र नेपालीको पहिचान कायम राख्न सकिन्छः राष्ट्रपति


- दृष्टि न्युज/संवाददाता




काठमाडौँ, २२ माघ ः राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 



सोनाम ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भएकाले यसतर्फ हामी सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । 

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धधनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।” 

राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमङ्गका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ । 

‘चाडपर्वले सामाजिक सद्भाव सुदृढ’ 
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । 

तामाङ समुदायको सोनाम ल्होछार २८५५ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कुकुर वर्ग (वर्ष)को बिदाइ र सुँगुर वर्ग (वर्ष)को स्वागत गरेर मनाइने सोनाम ल्होछारका अवसरमा सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइ र नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

उपराष्ट्रपतिले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको आँैल्याउँदै यसतर्फ सबैको ध्यान जाने विश्वाससमेत गर्नुभएको छ । 
(रासस)

प्रतिक्रिया दिनुहोस्