
जीवन यात्राका क्रममा विदेशी भूमिमा बिताएको आधादशकको अनुभवले म अर्कै भइसकेकी थिएँ । चीन जाने बेलाकी म र फर्कने बेलाकी ममा धेरै अन्तर आइसकेको थियो । चीन जाँदा आफ्नो सानो देशबाट अर्काको ठूलो देशमा गएको मात्र होइन, आफैभित्रको सानो संसारबाट बाहिरको ठुलो संसारमा पाइला राखेकी थिएँ । मनभरि कौतूहल, अनिश्चितता, आशा, डर धेरै भाव थिए । वरदान प्राप्त जस्तो भएको थियो– सानैदेखि जान मन लागेको देश जान पाउँदा । एक वर्ष अघिदेखि छुट्टिएको बुढालाई भेट्ने हतार थियो । त्यो प्रवास सकिएपछि फर्किने बेला भने मेरो सोच र अवस्थामा धेरै परिवर्तन आइसकेको थियो ।
चीन जाने बेला बाटोभरि छोरीलाई कहिले हातले डो¥याएर कहिले बोकेर, कहिले काखमा राखेर पुगेकी थिएँ । यतिबेला बुढासँगै देश फर्किने तयारीमा हुँदाभने छोरी साथमा थिइन । मनभरि कतिबेला ठुली छोरीलाई भेटुँ र अँगालोमा बाँधुँ भन्ने तीव्र चाहना थियो । आमाको मन न हो, छ महिना जति नेपालमा एक्लै सरोजको परिवारमा राख्दा छोरीको चिन्ता र मायाले म व्यथित थिएँ । छोरी पनि अधैर्य भएर हामीलाई पर्खिराखेको कुरा उसको चिठीले र फोनमा कुरा गर्दा उसको आवाजले बताउँथ्यो । सपनामा मैले देख्ने गरेको उसको निन्याउरो अनुहारले पनि मलाई अत्यासै लागिसकेको थियो । चीन बसाइको अन्तिम चरणमा म पटक्कै खुसी हुनसकेकी थिइनँ ।
नेपाल फर्कन सोचेभन्दा तीन महिना ढिलो हुनुको एउटा मात्र कारण थिएन । ती पछिल्ला तीन महिना बिताउन मलाई सजाय जस्तो भइसकेको थियो । पर्खँदा पर्खँदा मेरो धैर्यको बाँध नै टुटिसकेको थियो । ससुरा बुवाले छोराबुहारी घर फर्किउन् र बस्नलाई समस्या नहोस् भनेर बुढेसकालमा पनि नयाँ घर बनाउन थाल्नु भएको कुरा सरोजले सुनाएका थिए । छोरीलाई फोन गर्दा प्रायः बुवाले नै फोन उठाउनु हुन्थ्यो र त्यही कुरा मलाई नै पनि भन्नु भएको थियो ।
“नयाँ घर बन्दैछ… छोरी खुसीसँग बसेकी छे… तिमीहरु ढुक्क भएर फर्के हुन्छ…” भनेर । तर त्यो घर अझै मेरो भइसकेको थिएन।पुरानो सगोलको घरमा एक दुई रात मुस्किलले बिताएको अनुभवले पनि होला त्यो घर मेरो निम्ति हुन सक्तैन भन्ने सोच उहिल्यैदेखि मनमा आइरह्न्थ्यो । त्यसैले फर्के पछि कतै डेरा लिएर बस्नु उचित होला भन्ने पनि लागिरहेको थियो । तर यो पनि थाहा थियो– भविष्य त जहिले पनि अनिश्चित नै हुन्छ, ठ्याक्कै सोचेजस्तो त केही हुँदैन । तर जाने बितिक्कै नयाँ बन्दोबस्त गर्नको निम्ति पैसा चाहिन्थ्यो । लेखहहरु लेखेर जोहो गरेको पैसा पनि धेरै थिएन । सरोजको पढाई जतिसुकै राम्रो र उपाधि जतिसुकै उच्च भएपनि पैसा कमाउने न ढङ्ग थियो, न सोच । खाली हात भएपनि देशमा नयाँ अस्पताल बनाउने धोकोमै चुर्लुम्म डुबेको थियो । सोच्ने बित्तिक्कै सबै कुरा तयार हुने होइन भन्ने कुरा नबुझ्ने त उ पनि थिएन । तर सानै बेलादेखि आमासँग बस्न नपाएको र बुवाको साथमा कहिले कहाँ कहिले कहाँ पुग्नु परेकोले होला उसलाई घर व्यवहार के हो नै थाहा थिएन । परिवार चलाउन पैसा पनि चाहिन्छ भन्ने नै थाहा थिएन । समाज कस्तो छ भन्ने बारे पनि शायद कुनै अनुभव थिएन ।
भावुक स्वभावको उसमा करुणा, मैत्री, प्रेम त प्रशस्त थियो । बच्चैदेखि मेधावि विद्यार्थीमै गनिँदो पनि रहेछ । सरस्वतीको प्यारै होला, तर लक्ष्मी उनीसँग खुसी थिइनन् । हाम्रो दशवर्षको वैवाहिक जीवनमा पनि लक्ष्मी कहिल्यै खुसी भइनन् । यदाकदा मेरो लेखहरुबाट केही डलर आएपनि त्यसलाई नियमितता दिन मैले पनि सकिन । घर पुगे पछि के हुने हो भन्ने चिन्ता स्पष्टै बाँकि थियो ।
त्यो बेलासम्म त पेटमा अर्को एउटा सन्तान पनि हुर्किन थालिसकेको थियो । (ठुली)छोरीलाई एउटी बहिनी होस् भन्ने ठुलो चाहना थियो । हामीसँग माग नै गरेकी थिई । मेरै पनि दुइटा सन्तान होस् भन्ने सोच थियो । यसपाली छोरी नै जन्मिँदैछ भन्ने कुरा हामीलाई थाहा भइसकेको थियो । यो कुराले हामी खुसी थियौँ । छोरी पनि खुसी हुने पक्का थियो । तर हाम्रो परिस्थिति भने सरल थिएन, बाटो अझै बाङ्गो टिङ्गो नै थियो । हुन त जीवनमा संघर्ष मात्र त थिएन, बेला बेलामा खुसीका फूलहरु पनि फुलिरहेका थिए । तर निर्धक्क भएर घर फर्किन सक्ने अवस्था भने थिएन ।
जीवनमा धेरै कुरा थपिसकेको भए पनि म अझै खाली खाली जस्तै थिएँ । नेपालमै छँदा औपचारिक डिग्री र पढाईलाई पनि “बुर्जुवा शिक्षा बहिष्कार” गर्ने सिलसिलामा छोडेकी म चीनमा पुगेर राम्रो युनिभर्सटीमा अध्ययन गर्न पाएकी थिएँ । पैसा गहना केही थिएन । लोग्ने भेट्न ऋण काढेर गएकी मान्छेसँग हुन पनि के होस् र ! एउटा मीठो सपना थियो । कुनै दिन मेरो देश पनि स्वर्ग जस्तै होला भन्ने पनि आशा थियो । तर यो आशामा अल्झिरहँदा झनै दुःख हुन्छ भन्ने डरपनि थियो । किनकि चीन जानु अघि नै देशका केही नेताहरुको अदूरदर्शी विचार व्यवहारले म अलि सचेत पनि हुन थालिसकेकी थिएँ । त्यहाँमाथि टोकियोमा भेट भएका जापानी प्रोफेसर हिरोशि इशिले भनेका शब्द अझै कानमा गुन्जिरहेका थिए – “तिम्रो देशमा आन्दोलन त जहिलेपनि भइरहेको हुन्छ । तर देश बनाउने नेता नै छैनन् …।”
सानी छोरीलाई लिएर बुढासँग टाढा एक्लै अनेक कठिनाइसँग जुझिरहेकी मलाई ऋण काढेर, अरुसँग सहयोग लिएर बुढासँग भेट्न चीन जान खोज्दा “अहिले नजाउ” भनेर ती नेताहरूले मात्र होइन, साथीहरुले पनि भनेका थिए । तर आफ्नो कर्मलाई आफैले बनाउनु जरुरी छ भन्ने कुराको पाठ सिकिसकेकी थिएँ । “बुर्जुवा शिक्षा बहिष्कार” गराउनेहरूकै बीचमा त्यही “बुर्जुवा शिक्षा”को डिग्री नहुँदा तिनै नेता र साथीहरुबाट पनि ठगिएको नमिठो अनुभव पनि बटुलिसकेकी थिएँ ।
चीनमा पुग्नु र युनिभर्सिटीमा पढ्न पाउनु मेरा लागि एक किसिमले वरदान सरह नै भयो । एउटा ढोकाले अर्को ढोका खुल्दै गयो । डिग्रीभन्दा महत्वपूर्ण कुरा सहृदयी साथीहरु पाएँ । तिनीहरूको सम्मान, विश्वास र माया पाएँ । दुनिया के रहेछ भन्ने बुझ्न पाएँ । जीवनमा नयाँ आयाम थपियो । साँच्चै भन्ने हो भने आफ्नै बुढालाई पनि त्यहाँ पुगेपछि नै अझै बढी बुझ्न पाएँ । बल्ल परिवारको आकार पनि आउन थाल्यो । अहिले फर्केर हेर्दा लाग्छ, यिनै कुराले गर्दा देश फर्केपछि गर्नु पर्ने संघर्षको निम्ति केही बल पनि थप्यो ।














