काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् ।

सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् । कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटी देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।
सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताइन् । सरकारले करिव ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उनको तर्क छ। उनले माईतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यवद्धता समेत व्यक्त गरिन् । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरबाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरिन् । उनले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सीमित हुन नहुनेमा जोड दिइन् ।
उनले भनिनन्, ‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ । रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्याङ्कन हुने व्यवस्था मिलाइयोस् । सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरीने गरेर सरकार ओभर स्मार्ट बन्न नलागोस् ।’
सांसद गुरुङले विद्यार्थीले पुनःयोग (रिटोटलिङ) का लागि तिर्नुपर्ने चर्को र अव्यवहारिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग राखिन् । विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने र परीक्षा राम्रो दिएका विद्यार्थीहरू समेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनुले परीक्षा प्रणाली र कोडिङ–डिकोडिङ प्रक्रियामा गम्भीर त्रुटी भएको सङ्केत गर्ने उनको दाबी रहेको छ ।














