काकमाडौं । हेलमेट बिना मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

त्यसलग्तै ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका हो । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
शाहलाई ५०० रुपैयाँ जरिवाना गरिएको छ । पत्रकारमाझ शाहले आफूले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताएका छन् ।
शाहले ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै कानुन सबैका लागि समान हुनुपर्ने बताएका छन् । पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न सबै नागरिकलाई शाहले आग्रह गरेका छन् ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना बाइक चलाएको भिडिओ सार्वजनिक गरेका थिए ।
केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले टिकाटिप्पणी बढेको थियो ।














