Logo
Logo

फिफा विश्वकप : पोर्चुगल र क्रोएसिया आमने सामने हुँदै


0
Shares

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत पोर्चुगल र क्रोएसिया आमनेसामने हुँदै छन् । टोरन्टो रंगशालामा भोली बिहान हुने यो खेल नेपाली समय अनुसार ४: ४५ बजेदेखि सुरु हुने भएको छ ।

The current image has no alternative text. The file name is: football.jpg

पोर्चुगलका लागि सबैभन्दा ठूलो आशा कप्तान क्रिस्टियानो रोनाल्डोमाथि हुनेछ । ४१ वर्षीय रोनाल्डोले समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गरे पनि कङ्गो लोकतान्त्रिक गणतन्त्रसँग १-१ को बराबरी तथा कोलम्बियासँग गोलरहित बराबरीमा गोल गर्न सकेका थिएनन् । विश्वकपको नकआउट चरणमा भने उनले अहिलेसम्म एकपटक पनि गोल गर्न सकेका छैनन् ।

यदि रोनाल्डोले क्रोएसियाविरुद्ध खेल खेले भने यो उनको विश्वकप नकआउट चरणको नवौँ खेल हुनेछ । यसअघिका आठ खेलमा उनले २९ पटक प्रहार गरे पनि गोल गर्न सकेका छैनन् । सन् १९६६ यताको तथ्याङ्कअनुसार विश्वकप नकआउट चरणमा गोल नगरी सबैभन्दा धेरै प्रहार गर्ने खेलाडीको सूचीमा उनी ब्राजिलका रोबर्टो कार्लोससँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजको टोली समूह ‘के’ मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले कङ्गो लोकतान्त्रिक गणतन्त्रसँग १-१ को बराबरी खेल्यो, उज्बेकिस्तानलाई ५-० ले हरायो र कोलम्बियासँग गोलरहित बराबरी खेलेको थियो ।

समूह चरणमा पोर्चुगलले कुल एक हजार ६९० पास पूरा गर्दै विश्वकप इतिहासकै सबैभन्दा धेरै पासको कीर्तिमान बनायो । औसत ६२।५ प्रतिशत बल नियन्त्रण पनि राख्यो । तर यति धेरै बल नियन्त्रणका बाबजुद गोल गर्ने अवसर सिर्जनामा भने टोली अपेक्षाअनुसार प्रभावकारी देखिएन । यस पटक ३७ प्रहारमध्ये १२ मात्र लक्ष्यमा पुगेका थिए ।

पोर्चुगल हालसम्म प्रतियोगितामा अपराजित छ । एक जित र दुई बराबरीसहित टोलीले लगातार तीन खेल हार व्यहोरेको छैन । यसअघि सन् १९६६ / २००६ को विश्वकपमा मात्रै पोर्चुगलले लगातार चार वा सोभन्दा बढी खेल अपराजित रहने उपलब्धि हासिल गरेको थियो । मध्यपङ्क्तिमा भिटिन्हाले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले समूह चरणमा २७० पास पूरा गर्दै विश्वकप समूह चरणमा कुनै पनि पोर्चुगिज खेलाडीले गरेको सबैभन्दा धेरै पासको कीर्तिमान बनाए । 

कोलम्बियाविरुद्ध उनले गरेका सबै ५४ पास सफल भएका थिए, जुन विश्वकप इतिहासमा कुनै पनि मध्यपङ्क्तिका खेलाडीले शतप्रतिशत सफलतासहित पूरा गरेको संयुक्त रूपमा सबैभन्दा धेरै पास हो ।

उता क्रोएसियाले भने प्रतियोगिताको सुरुआत इङ्ग्ल्यान्डसँग ४-२ को हारबाट गरेको थियो । पहिलो हाफ २-२ को बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई गोल खाँदा टोली पराजित भएको थियो । त्यसपछि प्रशिक्षक ज्लाट्को डालिचको टोलीले उत्कृष्ट पुनरागमन गर्दै पानामालाई १-० र घानालाई २-१ ले हरायो । समूह ‘एल’ मा दोस्रो स्थान हासिल गर्दै क्रोएसियाले अन्तिम ३२ मा पोर्चुगलसँगको भेट तय गरेको हो ।

क्रोएसिया विश्वकपको नकआउट चरणमा चौथोपटक पुगेको हो । यसअघि सन् १९९८, २०१८ र २०२२ मा पनि टोलीले पहिलो नकआउट खेल पार गर्दै अर्को चरणमा स्थान बनाएको थियो । टोली सन् २०१८ पछि पहिलोपटक कुनै ठूलो प्रतियोगितामा लगातार तीन जित निकाल्ने लक्ष्यमा छ । अनुभवी कप्तान लुका मोड्रिचले यो खेल खेले विश्वकपमा उनको २३औँ उपस्थिति हुनेछ । त्यससँगै उनी पाओलो माल्दिनी र मानुएल नोयरसँग संयुक्त रूपमा विश्वकपमा पाँचौं धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनीभन्दा अगाडि लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, लोथार म्याथाउस र मिरोस्लाभ क्लोजे मात्र रहनेछन् । 

हेड९टु९हेड तथ्याङ्क पनि पोर्चुगलकै पक्षमा देखिन्छ । दुवै टोलीबीच भएका १० भेटमध्ये पोर्चुगलले सात जित निकालेको छ भने दुई खेल बराबरीमा टुङ्गिएका छन् । क्रोएसियाले केवल एक खेल मात्र जितेको छ । प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले क्रोएसियाविरुद्ध खेलेका छ खेलमध्ये पाँच जित र एक बराबरी खेलेको छ ।

विश्वकपमा युरोपेली टोलीविरुद्ध सुरुआती नौ खेलमध्ये केवल एक खेल हारेको क्रोएसियाले पछिल्ला तीन खेलमा भने जित निकाल्न सकेको छैन । सन् २०१८ को फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएको टोलीले २०२२ मा बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो भने यस वर्षको समूह चरणमा इङ्ग्ल्यान्डसँग ४-२ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्