Logo
Logo

अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमा बोर्डको अनुरोध


189
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने अनुरोध गरेको छ । बोर्डले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने भनेको हो । बोर्डले गत मङ्सिर मसान्तसम्मको मात्र रकम भुक्तानी भएको जनाएको छ ।  

The current image has no alternative text. The file name is: beema-bord.jpg

सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ ।  ‘चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार रकम भुक्तानी गरिएको जानकारी गराइन्छ । उक्त भुक्तानीसँगै  २०८२ मङ्सिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ,’ बोर्डले भनेको छ । 

त्यसयताको रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जानकारी गराएको छ ।  ‘मङ्सिर पश्चातका दाबी भुक्तानीका गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग समन्वय एवं पहल निरन्तर भइरहेको बोर्डले जनाएको छ । 

रकम भुक्तानी नभएको समयसम्म सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगर्न र बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । 

बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्