Logo
Logo

‘अरु भए जीवन सकाउँथे होलान्, म समाजसँग लडेर यहाँसम्म आएँ’


समीक्षा अधिकारी, गायिका

126
Shares

२० वर्षको कलिलो उमेरमै अनगिन्ती सघर्षयमय दिन पार गरेकी गायिका समीक्षा अधिकारी अहिले नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चित छन् । पछिल्लो समय स्वदेश एवं विदेशमा पाँच सय बढी स्टेज प्रस्तुति दिएर हजारौँ दर्शकको मन जितेकी उनी अहिलेकी निकै व्यस्त छन् ।

हालसम्म दुई हजार भन्दा बढी गीत गाईसकेकी उनले आधुनिक लोक पप विधा र चलचित्रमा पनि आफनो स्वर दिइसकेकी छन् । दर्जनौँ अवार्डले सम्मानित भएकी समीक्षा अहिले युवा पुस्तामाझ निकै लोकप्रिय छन् । उनै लोकप्रिय गायिका समीक्षा अधिकारीसँग रेजिना पाण्डेको जम्काभेटः

निर्देशक विकास आचार्यसँग भेट नभएको भए तपाईँ गायनतर्फ लाग्नुहुन्थ्यो ?

मेरो रहर नै गायिका बन्ने थियो । विकास आचार्यको कारणले यसमा छिटो सफलता पाएकी हुँ । उहाँ नभएको भए पनि अलि ढिलो गन्तव्यमा पुग्थे होला । उहाँसँगको भेटले मलाई सहज भयो । मेरो प्रतिभाको कदर गरिदिनुभयो र कम उमेर नै यो सफलता हात प¥यो ।

कसरी उहाँहरूसँग जोडिन पुग्नुभयो ?

पोखरामा ‘छक्का पञ्जा’को सुटिङ हेर्न साथीहरूसँग गएका थियौं । छायाँकार पुरुषोत्तम प्रधानले मलाई गीत गाउन लगाउनुभयो । उहाँले सो भिडियो सामाजिक सञ्जालमा पनि हालिदिनुभएछ, भिडियो भाइरल भयो । त्यसपछि उक्त चलचित्रका निर्देशक विकास आचार्यले संगीतकारसँग कुरा गरेर यस्ता प्रतिभालाई अगाडी ल्याउनुपर्छ भनेर भन्नुभएको रहेछ । सुटिङ चलिरहेकै बेलामा संगीतकारले मलाई फोन गर्नुभयो । उहाँहरूकै चलचित्र ‘नाई नभन्नु ५’ मा गाउने अवसर दिनुभयो । ‘कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ भन्ने गीत थियो, जसलाई धैरैले रुचाउनुभयो । त्यसले मेरो गाउने बाटो पनि खुल्यो । त्यही गीतको चर्चाले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।

एकाएक अफर आएर गाएको गीत पनि चल्यो, त्यति बेला तपाईँले कस्तो महशुस गर्यो ?

एकाएक फोन आउँदा खुशी लाग्यो । असारको महिना पानी परिरहको थियो । करिब सात बर्षअघि फूपूलाई लिएर काठमाडौ आएर गीत रेकर्ड गरेँ ।

बीचमा तपाईँलाई विविध कारणले पनि तनाव व्यहोर्नुपर्यो हैन ? ती दिनलाई कसरी सम्झनुहुन्छ ?

हो विगतका ती दिनले मलाई धैरै पाठ सिकाए । कतिले धैरै अपशब्दहरू प्नि बोलेर यौन हिसांको आरोप लगाए । कतिले दश लाखको संज्ञा दिँदै निरन्तर लखेटिरहे । त्यो मेरो लेखान्तको कुरा थियो । स्टेज कार्यक्रममै ढुंगा प्रहारदेखि सामाजिक सञ्जालभरी गालीको वर्षा हुन्थ्यो । तर पनि मैलै हिम्मत हारिनँ । अरु भए सायद जीवनदेखि भागेर आफैँलाई सकाउँथे होलान् । तर म समाजसँग लडेर यहाँसम्म आइपुगेको हुँ । आज समाजले मलाई बुझेको छ, त्यसमै खुशी लाग्छ ।

तपाईँले जुन मानसिक यातना सहनुप¥यो, त्यतिबेला परिवारको कस्तो साथ रह्यो ?

परिवारले नै मलाई साथ दिएर मेरो लागि धैरै कुरा सहनुभएको हो । अरुले पनि मलाई सहानुभूति र हौसला दिनुभयो ।

भर्खर मात्र तपाईँले प्रभावशाली महिलाको अवार्ड पनि पाउनुभयो, ती संघर्षमय दिन र आजको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
यो सम्मानले मेरो आत्मबल बढेको छ । जीवनमा जे जस्तो अवस्था आए पनि हार मान्नुहुँदैन । लड्नुपर्छ, आफैँ उठ्ने प्रयास गर्नुपर्छ । जीवनमा समस्याबाट भाग्ने होइन, संघर्ष गरिरहनुपर्छ भन्ने सोचेर नै अगाडि बढेको छु ।

हिजोको दिनमा औंला उठाउनेहरुले आज तपाईँलाई सम्मान गरेका छन्, यो देख्दा कस्तो अनुभूति हुन्छ ?

त्यतिबेला मलाई नबुझेर हो । जसले जे भने पनि त्यो उहाँहरूको विवेकको कुरा थियो । सुनेकै कुराको भरमा अनेकौ आरोप लगाउनुभयो । तर पछि कुरा बुझेर मलाई माया गर्न थाल्नुभयो । त्यो नै मेरो लागि खुशीको कुरा हो ।

अहिले कत्तिको व्यस्त हुनुहुन्छ ?

व्यस्तै छु, गीत रेकर्डिङदेखि स्टेज कार्यक्रमहरू भइरहन्छन । कहिले स्वदेश कहिले विदेश जाने आउने क्रम चलिरहेको छ । आजभोलि साँच्चै भन्ने हो भने कामकै चापले खाना खाने पनि फुसर्द हुँदैन ।

यही गायन क्षेत्रमै जीवन बिताउने कि यसको विकल्प पनि सोच्नुभएको छ ?

यो क्षेत्रबाहेक अरु रोज्ने अवस्था नआओस् । मैले जीवनमा अनेकौं पीडा, यातना, स्टेजमा नै गालीगलौचदेखि स्टेजसम्म खाली हुने अवस्थामा त यो क्षेत्र छोडिनँ । त्यस्तो पीडादायी अवस्थाबाट आएकी मैले अब त झन् यो क्षेत्र छोड्ने कल्पना पनि गर्न सक्दिनँ ।

तपाईँ नेपालको सांगीतिक क्षेत्रकी चर्चित गायिका हुनुहुन्छ, अन्य क्षेत्रका आम महिलाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
हरेक महिलामा आफ्नो कर्मप्रति दृढविश्वास, अठोट आँटिलो र साहसिलो हुनुपर्छ । अरुले आलोचना गर्दैमा निराश हुने होइन, दृढविश्वासको साथ अगाडि बढ्नुपर्छ । कसैले पनि नहेपोस्, कसैको कमजोरीलाई उपयोग नगरोस् । आफूले जे जानेको छ त्यही कर्ममा रम्नुपर्छ भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्