Logo
Logo

डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु


63
Shares

काठमाडौं । डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिवार राति आएको बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: dolpa.jpg

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो ।

बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदा गर्दा मृत्यु भएको हो । उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक , ४८ वर्षीय विष्णु विक , १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक रहेका छन् । 

प्रहरीका अनुसार उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ ।

स्थानीयका अनुसार बाढीले करिब १५/१६ मिटरसम्म बगाएको थियो, जसका कारण घाइतेहरूको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्