काठमाडौं । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रका सुकुम्वासीहरू विरोधमा उत्रिएका छन् ।

सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको उनीहरुको गुनासो रहेको छ । उनीहरूले आफू रात भरी भोकै बसेको र केही उपाय नलागेपछि बिहानैदेखि विरोध उत्रिएको बताएका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार बिहानसम्म खाना पाएको बताए । उनले हिजो बिहान खाना खाएको साँझदेखि खाना नदिएको बताएका हुन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । सरकार आफैले होल्डिङ सेन्टरमा बस्न दिएको अवधिसम्म पनि भोकै राखेको उनीरुहको गुनासो रहेको छ । विरामी, पाका उमेरका र बालबालिका बिचल्लीमा परेका उनीहरुको गुनासो छ ।
सरकारले गत वैशाखमा बागमती र मनोहरा किनारका बस्ती खाली गरेर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो । खरिपाटीमा ९९ परिवारका २०७ जना छन् ।सुकुम्वासीले विरोध गर्न थालेपछि अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।














