
काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुमै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमालेका सांसद राजेन्द्र राईलाई बोल्न समय दिएका थिए ।
सांसद राईले बोल्नेक्रममा ‘तपाईंले कान सुन्नु हुन्छ कि हुन्न’ भनेर प्रश्न सोधेका थिए । त्यसपछि सभामुख अर्यालले सभामुख र सभाको अपहेलना भएको भन्दै राईलाई बोल्न समय नदिने बताए । एमाले सांसद राई उठिरहेका थिए, सभामुखले अर्का सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए । तीन पटक बोलाउँदा पनि सांसद तामाङ बोल्न उठेका थिएनन् ।
यसबीच सभामुखले अर्का सांसदलाई बोल्न दिएको भन्दै एमालेका सांसदहरू उठेर विरोध गरेका थिए ।
सभामुख अर्यालले एमाले सांसद राईप्रति लक्ष्य गर्दै सांसदले बोल्ने क्रममा ‘जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ यस विषयमा ध्यानाकर्षण भएको’ भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरे ।














