
चीन छोड्ने बेलातिर मेरो शारीरिक र मानसिक दुवै अवस्था सहज थिएन । म दोस्रो पल्ट आमा हुन गइरहेकी थिएँ । पेटमा चार महिनाकी छोरी हुर्किरहेकी थिई । अर्कोतिर ९ वर्षकी ठुली छोरीलाई यथाशक्य छिटो अँगालोमा बाँध्न देश पुग्नु थियो । यस्तो बेचैनीको अवस्थामा पाँच वर्ष बिताएको ठाउँबाट फर्किने तयारी गर्दै थिएँ । मेरो बेचैनी आफै बाहेक अरु कसैले अनुभूत गर्ने कुरा भएन । मेरो सहयात्री र जीवन साथी सरोजलाई समेत मेरो त्यो हतारो सहज लागेको थिएन ।
हतारोको कुनै प्राविधिक कारण थिएन । न परदेशको भिसा सकिएको थियो, न त स्वदेशले न्यानो गरी बोलाइरहेको थियो । यथार्थ त के भने फर्केपछि कहाँ कसरी बस्ने भन्ने सम्म पनि ठेगान थिएन । तर पनि ६ महिना अघि बाबुसँगै घर फर्केर उतै बसेकी छोरीलाई भेट्न यसरी हतारिएको थियो कि भनेर साध्यै छैन । ससुरा बुवाको करले नेपाल पठाएकी थिएँ छोरीलाई – आफू फर्किनु छ महिना अघि ।
दुई तीन महिना भित्र आफै फर्किन्छौँ भनेर पठाएको, परिस्थितिले छ महिना लम्ब्याइदियो । तीन महिना जति त छोरीलाई त्यसरी आफूभन्दा अलग्ग राख्नुको मानसिक सजाय भोगि नै सकेकी थिएँ । त्यो अवधिलाई अझै लम्ब्याउन मैले चाहिन । सेकेण्ड, मिनेट, घण्टा, दिन हुँदै एकपछि अर्को महिनाको हिसाब गर्न थालेँ । आमा हुनु भनेको गर्वको कुरा मात्र होइन, जिम्मेवारी कुरा पनि हो । आमा र बच्चाको सम्बन्ध भनेको संसारमा अरु कुनै सम्बन्ध भन्दा फरक सम्बन्ध हो भनेर बुझेकी थिएँ । यतिबेला त्यसलाई प्रत्यक्ष अनुभूत गर्दै थिएँ । त्यतिबेला ९ वर्षकी छोरीले भोगिरहेको एक्लोपनको कल्पनाले मलाई झन झन् व्याकुल बनाइरहेको थियो । जसरी भएपनि छिटो भन्दा छिटो मलाई देश फर्किनु थियो ।
समयले परिक्षा पनि लियो हामीलाई । बल्ल बल्ल सरोजको विद्यावारिधीको सबै औपचारिकता सकियो । सिद्धिने बित्तिकै तुरुन्तै फर्किने तयारी गर्नु स्वाभाविकै भयो । हामी फर्कदै गरेको कुरा सबै साथीहरुलाई थाहा थियो । एक दुई हप्ता समय त लागिहाल्छ भन्ने थियो सबैलाई । चीनमा कमाएका आत्मीय साथीहरुले सरोजलाई अझै नफर्किदियोस् जस्तै पनि गरेका थिए ।
धेरै साथी र गुरुहरुले आ–आफ्नो घरमा लन्च वा डिनरको निम्ति निम्तो दिएका थिए । त्यही अनुसार कुन दिन कहाँ जाने भनेर लामै क्यालेन्डर बनिसकेको थियो । त्यतिबेला कुनै चीनिया साथीको घरमा गरिने सत्कार भनेको चानचुने हुँदैनथियो । एउटा लन्च वा डिनरमा कम्तिमा २० प्रकारका परिकार हुन्थे – प्राय माछा–मासुको प्रधानता हुन्थ्यो । त्यसको निम्ति राम्रै तयारी गर्नु पथ्र्यो । अहिले जस्तो रेष्टोराँमा ख्वाउने चलन पनि आइसकेको थिएन । परिकारहरु बनाउन घरका महिलाको भन्दा पुरुषको भूमिका बढि हुन्थ्यो । अनि टेबुलमा कलात्मक तरिकाले प्रस्तुत गरेका खाना घण्टौँ लगाएर खाने गरिन्थ्यो ।
छ वर्षको तपस्या पछि सरोजले विदयावारिधिको टोपि लगाउन पाएका थिए । त्यो काम सकिने बित्तिकै देश फर्किन हवाई टिकटको बन्दोबस्त गर्नु थियो । टिकटको निम्ति सम्बन्धित ठाउँमा सम्पर्क ग¥यौं , थाहा भयो –कि त पर्सि बिहानको टिकट कि भने दुई हप्ता पछिको मात्र मिल्ने भयो । पर्सि पल्टको टिकट पनि तुरुन्त बूक गरेन भने फुत्किने सम्भावना थियो ।
दुई हप्ता पर्खे पनि निश्चित नभएको जस्तो कुरा आएपछि भने म पर्खिन तयार भइन । त्यो निर्णय गर्नु पनि एक किसिमको परीक्षा नै थियो । दिउँसोको समय भइसकेको थियो – आखिर पर्सिपल्ट बिहानकै टीकट बूक ग¥यौं हामीले । अब हामीसँग तयारीको समय ज्यादै थोरै थियो । आधा दशक बसेको ठाउँलाई तुरुन्तै त्यसरी एक्कासि छोड्नु भनेको त्यति सजिलो हुने कुरै भएन । सामान मिलाउन त बाँकि नै थियो, साथीहरु सबैलाई खबर गरी त्यसरी बोलाएको निम्तोहरुलाई एक्कासि क्यान्सिल गर्ने झन् कति गाह्रो !
हामी दुवैमा व्यावहारिकताको कमी थियो । बिहे गरेको दश बर्ष बितिसक्दा पनि परिवार कसरी चलाउने भन्ने कुरा सिकेकै थिएनौँ । पर्सिपल्ट बिहानै चीन छोड्ने निर्णयमा बढि जोड मेरै थियो । आफूले चलाउँदै आएका महत्वपूर्ण सामान कसरी घर पठाउने वा लाने भन्ने कुनै अनुभव पनि थिएन । पाइनसक्नु अमूल्य किताबहरु थिए हामीसँग । कति साथीहरुले दिएका विशेष उपहारहरु पनि थिए । आफ्नै दैनिक व्यवहारमा प्रयोग गर्न पर्ने, बोक्नु पर्ने महत्वपूर्ण सामाग्रीहरु त हुने नै भए ।
अरु सामानहरु महङ्गा वा सस्ता जे भए पनि आफूलाई तुरुन्तै नभई नहुने र आफूले बोक्न सक्ने जति मात्र लिएर फर्किने विचार गरेँ । अति महत्वपूर्ण फोटोहरु समेत पनि बोक्न नसक्दा आँखामा आँसु राख्दै च्यातेर फ्याँक्नु परेको कुरा पनि सम्झन्छु बेला बेलामा । साथीहरूलाई चाहिएका कुरा दिएर जाने भनेको पनि नभ्याएर हुर्रा… गर्नु प¥यो । परिस्थितिले त्याग गर्न पनि सिकाउँदो रहेछ । आत्तिएका बेला देखिने बोहुलट्टी पनि थियो होला ।
जम्मा दुइटा सुट्केशमा जति सामान अट्छ, त्यति मात्र प्याकिङ ग¥यौँ । ठुलो सुट्केश बुढाको निम्ति, सानो सुट्केस मेरो निम्ति। दुई जीउकी भएका कारण मैले धेरै भारी बोक्नु हुँदैन थियो । नत्र भने चीन जाने बेला त चार वर्षकी छोरीलाई समेत बेला बेलामा आफैले बोक्दै, भारी पनि आफैले बोकेर हिंडेकी थिएँ । बाटोमा जस्तै अप्ठ्यारो भए पनि जसरी पनि चीन पुग्ने एउटै मात्र धोको थियो त्यो बेला ।
धन्न प्रकृतिले मलाई बलियो नै बनाएको थियो । यति बेला भने मेरो अवस्था फरक थियो । पेटको बच्चाको निम्ति आफ्नो स्वास्थ्यमा ध्यान पु¥याउनु पर्छ भन्ने कुरामा सचेत थिएँ । ठुली छोरी दुई वर्षकी हुँदा ओभरियन सिष्ट बटारिएर इमर्जेन्सी अपरेशन गर्नु परेको सम्झना हुँदा म आत्तिन्थेँ । अहिले मैले होश पु¥याउन नसक्दा पेट भित्र हुर्किरहेको बच्चालाई केही असर पो पर्ने हो कि भनेर डर लाग्थ्यो । त्यसैले पनि धेरै सामान बोक्ने कुरामा अलि होस् पु¥याएकी थिएँ ।
केही महत्वपूर्ण किताब थिए सरोजले जम्मा पारेका । त्यो मध्ये एउटा ठूलो मोटो र गह्रौँ किताब थियो ‘चीनका आधुनिक चिकित्सा शास्त्रको इतिहास’ । त्यो पुस्तकलाई उनले धेरै महत्व दिएका थिए । केही समयपछि नेपाल फर्किने तयारीमा रहेका साथीलाई फर्किने बेला ल्याइदिनु भनेर यस्ता केही महत्वपूर्ण सामग्री छोडेका थियौँ । तर ती आएनन् । त्यसको बदलामा तीन शब्द मात्र पायौँ हामीले ‘सरी, ल्याउन सकिन ।’ त्यो पुस्तकलाई पछिसम्म पनि बिर्सनै सकेनन् सरोजले । अब त सबै कुरा नै भिन्दै भइसकेको छ ।














