
काठमाडौं । राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
आज (बिहीबार) बसेको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयकलाई पारित गर्ने प्रस्ताव राखेकी थिइन् । जसलाई सभाले सम्मत रुपमा स्वीकार ग¥यो ।
त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखेका थिए । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक पारित गर्ने प्रस्ताव राखिन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने प्रस्ताव राखिन् । यी सबै विधेयकलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
यही असार २३ गते राष्ट्रिय सभाले यी चार वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । असार २४ गते एकै दिन चार वटा विधेयकमाथि दफावार छलफल सकाएर प्रतिवेदन लेखियो । बिहान प्रतिवेवदन हेरेर दिउँसो सभामा पेस भयो । र पारित भएर अगाडि बढेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समयको चापका बावजुद विधान व्यवस्थापन समितिले सक्रियतापूर्वक प्रतिवेदन पेश गरी महत्वपूर्ण विधेयकहरू पारित गर्न पु¥याएको योगदानको प्रशंसा गरे । उहाँले आजैको बैठकबाट चारवटा प्रतिस्थापन विधेयक र दुईवटा आश्रित विधेयक (आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३) पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउन सफल भएको जानकारी दिए ।














