काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ । तर, गणेशले आफ्नो शरीरमा आगो सल्काउँदा केवल एउटा गरिब मजदुरको मासु मात्र जलेन, यो व्यवस्थाको सुकिलो मुकुण्डो र नयाँ भनिएका शासकहरूको नक्कली राष्ट्रवाद पनि खरानी भएको छ ।
हिजो “पुराना दलहरूले देश लुटे, युवालाई खाडी पठाए र जनता मारे भन्दै जेन–जी पुस्ताको आक्रोशको बुइँ चढेर सत्ताको सिंहासनमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज सिंहदरबारमा बसेर लासहरूको वर्गीकरण गर्दैछ । हिजो प्रतिपक्षमा हुँदा संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा फेसबुकमा आँसुका खोला बगाउने रवि लामिछाने र बालेन्द्र शाह आज आफैँ सत्ता र शक्तिको चरम चुलीमा छन् । तर, जनतामा भने उही पूरानै नियती दोहोरिरहेको छ ।
एउटा सामान्य नागरिकले राज्यकै कार्यालयअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याउनुपर्ने अवस्था आउनु कुनै आकस्मिक दुर्घटना होइन, यो राज्यप्रति सञ्चित हुँदै गएको चरम निराशाको विस्फोट हो । अझ दुःखद कुरा त के छ भने, यो घटना त्यतिबेला भएको छ, जब देशले केही महिनाअघि मात्रै परिवर्तनको ठूलो सपना देखेको थियो । ’जेन–जी’ आन्दोलनपछि जनताले पुरानो राजनीतिक संस्कारलाई अस्वीकार गर्दै नयाँ पुस्तालाई सत्ता सुम्पिएका थिए । उनीहरूको अपेक्षा स्पष्ट थियो– सरकार मात्र होइन, शासन गर्ने शैली पनि बदलियोस् । तर आज गणेश नेपालीको मृत्युले फेरि त्यही पुरानो प्रश्न ब्युँताइदिएको छ ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको यो घटना एउटा ह्विल लकको विवादबाट सुरु भएको थियो, तर यसको अन्त्य एउटा चितामा हुन पुग्यो । दिनभर सडकमा पसिना बगाएर परिवार पाल्ने एउटा साधारण राइडरले आफ्नो अन्तिम आवाज राज्यसम्म पु¥याउन आगोको ज्वाला रोज्यो । उनको यो निर्णय सही थिएन, तर यो आत्मघाती निर्णयसम्म पुग्न बाध्य बनाउने परिस्थिति कत्तिको सही थियो भन्ने प्रश्नबाट राज्य कुनै पनि हालतमा भाग्न सक्दैन ।
यस घटनापछि सडकदेखि सदनसम्म तातिएको छ । अस्पतालअगाडि आक्रोशित प्रदर्शन चर्किएको भने विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन् । संसद्मा सरकारमाथि संगीन प्रश्नहरू उठेका छन् । सरकारको आलोचना केवल प्रतिपक्षले मात्र गरेनन्, सत्तापक्ष कै सांसदहरूले पनि आक्रोश पोखेका छन् ।
यी सबै राजनीतिक टिप्पणी हुन् । तर, यी टिप्पणीभन्दा ठूलो प्रश्न त्यो हो, जुन गणेश नेपालीको मृत शरीरले सोधेर गएको छ– राज्य आखिर नागरिकको जीवन जोगाउन बनेको हो कि नियमको कठोर व्याख्या गर्न ? यस घटनाले धेरैलाई प्रेमप्रसाद आचार्यको आत्मदाह सम्झायो । त्यतिबेला अहिलेका सत्तारूढ नेताहरू सडकमा थिए र सरकारको कठोर आलोचना गर्थे । रवि लामिछानेले प्रेमप्रसादको आत्मदाहपछि “आफूहरू पनि दोषी भएको“ स्वीकार गर्दै नयाँ राजनीतिक शक्तिले नागरिकमा आशा जगाउन नसकेको बताएका थिए । हालका प्रधानमन्त्री बालेन शाहले त अझ खरो रूपमा तत्कालीन सरकारको आलोचना गरेका थिए । उनले “प्रेम आचार्यले आत्मदाह गर्नु राज्यको सबैभन्दा ठूलो असफलता र राज्यले नागरिकलाई हरेक मोडमा असफल बनाएको“ टिप्पणी गरेका थिए । त्यतिबेला यी अभिव्यक्तिले जनताको मन जितेका थिए । तर आज परिस्थिति फेरिएको छ । उनीहरू प्रतिपक्षमा छैनन्, सत्ताको बागडोर सम्हालेर बसेका छन् । त्यसैले, त्यतिबेला उठाएका प्रश्नहरूको उत्तर अब उनीहरूले आफैँले दिनुपर्ने अवस्था आएको छ ।
सत्ता परिवर्तनसँगै जिम्मेवारीको दायरा पनि बदलिन्छ । प्रतिपक्षमा हुँदा सरकारलाई असफल भन्न सजिलो हुन्छ, तर सत्तामा पुगेपछि त्यही असफलता दोहोरिन नदिनु नै नेतृत्वको वास्तविक परीक्षा हो । यदि प्रेमप्रसाद आचार्यको आत्मदाह राज्यको असफलता थियो भने, गणेश नेपालीको मृत्युलाई के भन्ने? यदि त्यतिबेला राज्य दोषी थियो भने, आजको राज्य को हो? यही प्रश्नको कठघराबाट वर्तमान सरकार उम्किन सक्दैन ।
गणेश नेपालीको मृत्युलाई केवल एउटा भावनात्मक घटना मानेर बिर्सिनु अर्को ठूलो भूल हुनेछ। यो घटना बेरोजगारीको विकराल रूप हो; सेवा प्रवाहको कठोरताको उपज हो; र प्रशासन तथा नागरिकबीच बढ्दै गएको दूरीको कथा हो । राज्यको संवेदनशीलता खस्किँदै गएको यो स्पष्ट संकेत हो ।
हामीकहाँ सरकार फेरिन्छन्, मन्त्री फेरिन्छन्, नाराहरू फेरिन्छन्, तर नागरिकले सरकारी कार्यालयमा भोग्ने सास्ती कहिल्यै फेरिँदैन । जनताले पालो कुर्छन्, हप्कीदप्की खान्छन्, जरिवाना तिर्छन्, दिनदिनै धाउँछन्, निवेदन दिन्छन् र फेरि रित्तो हात फर्काइन्छन्। अन्ततः उनीहरूले राज्यलाई ’सेवा दिने संस्था’ होइन, ’दुःख दिने संरचना’ का रूपमा बुझ्न थाल्छन्। जब यस्तो हीनताबोध गहिरिँदै जान्छ, त्यसको दुखद् परिणति गणेश नेपालीजस्ता घटनामा हुन पुग्छ।
अब सरकारले छानबिन समिति गठन गर्नेछ, प्रतिवेदन बन्नेछ, दोषी खोजिनेछ र केही कर्मचारीमाथि कारबाही पनि होला । तर, यदि राज्यले यस घटनाको भित्री जड खोजेन भने, अर्को गणेश नेपाली जन्मिन धेरै समय लाग्ने छैन । किनकि समस्या एउटा ’ह्विल लक’ मात्र होइन, समस्या त नागरिक र राज्यबीच दिनानुदिन गुम्दै गएको विश्वास हो ।
सरकारको लोकप्रियता भाषण वा सामाजिक सञ्जालका लाखौँ ’लाइक’ ले होइन, नागरिकको दैनिक अनुभूतिले मापन हुन्छ । फेसबुकमा देखिने समर्थन र एउटा भुइँमान्छेले राज्यप्रति गर्ने भरोसा नितान्त फरक कुरा हुन् । लोकतन्त्रमा सबैभन्दा ठूलो उपलब्धि चुनाव जित्नु वा सत्तामा टिक्नु होइन; नागरिकलाई यस्तो आत्मघाती अवस्थामा पुग्न नदिनु हो, जहाँ उसले आफ्नै ज्यान दिएर राज्यलाई प्रश्न सोध्नुपरोस् ।
’जेन–जी’ आन्दोलनले निरास जनतामा एउटा आशा जगाएको थियो । त्यो आशा अझै पूर्ण रूपमा मरिसकेको त छैन, तर गणेश नेपालीको मृत्युले त्यस आशाको जगमाथि गम्भीर चोट अवश्य पु¥याएको छ । अब सरकारसँग दुईवटा मात्र बाटा छन्– कि यसलाई सामान्य राजनीतिक विवाद बनाएर केही दिनमा सामसुम पार्ने, कि त यसलाई अन्तिम चेतावनीका रूपमा स्वीकार गर्दै आफ्नो शासन शैलीमै आमूल सुधार गर्ने ।
गणेश नेपाली अब कहिल्यै फर्केर आउने छैनन ्। तर उनको मृत्युले एउटा गम्भीर प्रश्न छोडेर गएको छ– “सरकार बदल्नु मात्र पर्याप्त हुँदैन, राज्य बदलिनुपर्छ “ जबसम्म सामान्य नागरिकले राज्यलाई आफ्नो असली संरक्षकका रूपमा महसुस गर्न सक्दैन, तबसम्म परिवर्तनका सबै नाराहरू अधुरा र नक्कली सावित भइरहनेछन्। अनि जनताले फेरि त्यही प्रश्न दोहो¥याइरहनेछन्– सरकार त फेरियो, तर हाम्रो नियति किन फेरिएन ?














