
शवर्षे ‘जनयुद्ध’ गरेर आएका ‘क्रान्ति नायक’ प्रचण्ड पनि कति ‘कायर’ रहेछन् भन्ने कुरो सुनेर पम्फा भुसाल पनि ट्वाँ परिन् । अस्ति आइतबार नेकपाद्वारा आयोजित एक कार्यक्रममा प्रचण्डले तपाईंहरुले कसरी हेर्नुभएको छ, थाहा छैन, हामी त किचिक्क परेर मिचिने र मारिने ठाउँमा थियौं नि, प्रतिक्रियावादीहरुले चाहेको भए एकै क्षणमा मारिने थियौं भनेर प्रचण्डले भदौ २४ गतेको स्मरण गरिरहँदा सँगै बसेका अग्नि सापकोटा पनि ट्वाँ परे ।
रामचन्द्र जिल्ल
जेनजी युवाहरुले आगो लगाएर मार्ने डरले सेनाले गत भदौ २४ गते सिंहदरबार ब्यारेकमा पु¥याएका प्रचण्डले मनमनै मार्ने पो हो कि भन्ने डर पालेर के बसेका रै’छन्, त्यत्तिकैमा भदौ २६ गते राष्ट्रपतिले बोलाएको छ भन्दा बल्ल बाँचियो भनेर प्रचण्डले ढुक्कसँग श्वास फेरे ।
हुन पनि भदौ २४ गते सेनाले रेस्क्यू नगरेको भए प्रचण्डले भनेझैँ उनी मारिन पनि सक्थे, तर भूराजनीतिको चक्रव्यूहले उनीलाई राष्ट्रपति कार्यालयसम्म पु¥यायो । त्यहाँ पुगेपछि उनी त बाँचे तर प्रतिनिधिसभालाई उनले अकालमा मारे, यो उनको ज्यान जोगाउने दाउ थियो कि त्यो पनि भूराजनीतिक चक्रव्यूह भन्ने कुरो नबुझेर रामचन्द्र पौडेल जिल्लराम परेका छन् ।
झाँक्रीको झोंक
गएको शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको राष्ट्रियसभा बैठकमा बोल्ने पालो थियो । उनले बजेटका विषयमा केन्द्रित भएर बोल्ने भन्दा पनि अन्टसन्ट बोलेको सुन्दा सांसद रामकुमारी झाँक्रीको पारो तात्यो ।
अर्थमन्त्री वाग्लेले हामी ग्रे लिष्टमा छौं, अब कालोसूचीमा पर्दैछौं, त्यसो भयो भने हामी संसारबाट अलग्गिन्छौं भनेपछि झाँक्रीले उफ्रँदै भनिन्– पार्टी सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिनेले ‘कालोसूची’को ध्वास दिन सुहाउँछ भनेपछि राष्ट्रियसभाका अध्यक्ष नारान दाहाल पनि पेट मिचीमिची हाँसे ।
कसो स्वर्णिम वाग्लेज्यू ?
कुनै पनि विदेशी कूटनीतिज्ञहरुसँग प्रधानमन्त्री बालेन साहले अहिलेसम्म भेट्न मानेका छैनन् । तर, एकाएक एडिबीका अध्यक्ष मासातो कान्दासँग बालेनले भेट्ने कुराले सबैलाई अचम्मित तुल्याएको छ ।
एडिबी अध्यक्ष मासातो बालेनलाई भेट्नकै लागि हिजो काठमाडौं आइपुगे । ऋण काढेर घिउ खाने हाम्रो पुरानै परम्परा हो, त्यसैले मासातोलाई भेट्दा कसैले किन टाउको दुखाउने ? कसो, स्वर्णिम वाग्लेज्यू ?
सय तोला सुन
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्म आङदम्बेले हिजोको प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाउँदै भने– गरिब देशका प्रधानमन्त्रीसँग सय सय तोला सुन कहाँबाट आयो ? त्यसको स्रोत देखाउन पर्दैन ?
आङदम्बेले कुरामाथि कुरा थप्दै सबैभन्दा पहिला प्रधानमन्त्रीले सम्पत्तिको स्रोत खुलाउनु पर्छ, अनि मात्रै हामीले पनि सम्पत्तिको स्रोत खुलाउन बाध्य हुन्छौं । प्रधानमन्त्रीले सम्पत्तिको स्रोत लुकाउने अनि अरुमाथि स्रोत खुलाउन भन्ने भन्दा रास्वपाका सांसदहरु ट्वाँ परे ।
विचरा आङदम्बेलाई के थाहा अहिलेको सरकारमाथि कसैले औला ठड्याउन पाइन्न भनेर निर्णय गरेको । कसो, पद्मा अर्याल कमरेड ?














