Logo
Logo

अष्ट्रेलियाको ‘शान’ त्यागेर स्वदेशमै ‘नाम र दाम’


दीक्षा ढकाल, फेसन डिजाइनर

63
Shares

यतिबेला दीक्षा ढकाल फेसन डिजाइनिङ क्षेत्रमा रमाईरहेकी छिन् । आफ्नै देशमा नै केही गनुपर्छ भन्ने उद्देश्यका साथ उनी अष्ट्रेलियामा अध्ययन पूरा गरेर नेपाल फर्किएकी हुन् । अहिले उनलाई अष्ट्रेलियाको सानदार जिन्दगी त्यागेकोमा कुनै पछुतो छैन । उनले नेपालमै आधा दर्जन भन्दा बढीलाई रोजगारी समेत दिएर नाम र दाम दुबै कमाईरहेकी छिन् ।

भिकुना बुटिक सञ्चालन गर्दै आएकी उनी हरेक युवाले आफ्नै देशमा सीप र क्षमतालाई उपयोग गर्नुपर्ने बताउँछिन् । स्नातकोत्तरसम्म अध्ययन पूरा गरेकी दीक्षाकोे भविष्यमा फेसन डिजाइनिङ क्षेत्रमा अझै उत्कृष्ट काम गर्ने योजना छ । उनै फेसन डिजाइनर दीक्षा ढकालसँग रेजिना पाण्डेको जम्काभेट :

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

व्यस्त छु, विवाहका सिजन आइरहेको छ, फेसन डिजाइनिङका काम पनि भइरहेका छन् । सेलिब्रेटीहरूका लागि पनि कपडा डिजाइनका अडर आईरहेका छन् । खाली बस्नुपरेको छैन ।

अहिले फेसन क्षेत्रमा पनि कडा प्रतिस्पर्धा छ, हैन ?

हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । एक अर्काको प्रतिस्पर्धामै सबैले सफलता हासिल गरिरहेका हुन्छन् । म पनि प्रतिस्पर्धामै अब्बल बन्ने प्रयास गरिरहको छु ।

प्रतिस्पर्धाले तपाईँको व्यवसायलाई असर त गरेको छैन ?

छैन नि, सबैले आ–आफ्नो काम गर्न पाउनुपर्छ, यो त राम्रो कुरा पनि हो । प्रतिस्पर्धा गर्न डराउने हो भने त कामै नगरे भईहाल्यो नि होइन र ? मेरै बुटिक भएको एरियामा समेत एक दर्जन भन्दा बढी अन्य बुटिकहरू पनि छन् । सबैका आआफ्ना रोजाइ हुन्छन्, आफ्नो कामले नै ग्राहकको मन जित्ने हो ।

फेसन डिजाइनर बन्ने रहर चाहिँ तपाईँलाई कसरी जाग्यो ?

मलाई बाल्यकाल देखि नै फेसनप्रति रुचि हो । फेसन डिजाइनर बन्ने रहर भएर पनि पढाइले गर्दा समय मिलेको थिएन । अष्ट्रेलियाबाट फर्केपछि मैलै आईआईएफटी फेसन एण्ड ईन्टेरियल डिजाइनर सम्बन्धि कोर्स गरेकी हुँ । त्यसपछि अहिले आफ्नै बुटिक चलाएर बसेकी छु ।

अहिले फेसन डिजाइनिङमा युवा पुुस्ताको आकर्षण कस्तो छ ?

अहिलेको समय फेसनको हो । आजका मान्छेहरू फेसन भनेपछि हुरुक्कै हुन्छन्, यो मान्छेको सोख पनि हो । अहिले सबै जना आफूलाई आकर्षक बनाउन चाहन्छन् । त्यसैले यसको बजार पनि बढ्दै गएको छ । योसँगै केही गरौं भन्नेहरू पनि यस क्षेत्रमा आकर्षित भइरहेका छन् । यो फेसन भनेको नेम र फेम एकै साथ कमाउने व्यवसाय हो ।

तपाईँको बुटिकमा कस्ता खालका ग्राहक धेरै आउनुहुन्छ ?

सामान्यदेखि सेलिबे्रटीहरु सबै आउनुहुन्छ । म सबैलाई फोकस गरेर कपडा बनाउँछु । कति आफँै डिजाइन लिएर पनि आउनुहुन्छ, त्यो पनि तयार गर्छु । बजारमा चलेका डिजाइन त छँदै छन् । त्यस बाहेक अन्य कपडा र डिजाइनहरू पनि तयार गरिरहेको छु ।

तपाईँ आफूचाहिँ कत्तिको फेसन गर्नुहुन्छ ?

म समय अनुसारको फेसन गर्छु । अरुलाई पनि फेसन गर्न सल्लाह दिन्छु । फेसनले ज्यान फुर्तिलो र आकर्षक देखाउँछ ।

अहिले आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट नै छु, यसमा कुनै शंकै छैन । आधा दर्जनलाई काम दिएको छु । अझै बुटिकको शाखा खोल्ने योजना छ । बुटिककै लागि स्पेसल मोडल हायर गर्ने सोच पनि छ ।

यसमा लाग्दा पारिवारिक साथ चाहिँ पाउनुभयो कि भएन ?

एकदम राम्रो साथ छ । श्रीमानको राम्रो साथ पाएको छु । मलाई सबैको सपोर्ट छ ।

तपाईँ आम नेपाली युवाको रोजाइको देश अष्ट्रेलिया छाडेर नेपाल आउनुभयो, अहिले पछुतो त लागेको छैन नि ?
छैन, मेरो उद्देश्य नै आफ्नै देशमा केही गर्नु थियो । पढेको र आफूले जानेको सीपलाई आफ्नै देशमा सदुपयोग गर्न पाउँदा खुशी छु । अहिले हाम्रो देशमा पनि नयाँ सरकार आएको छ । अब यो सरकारले आफ्नै देशमा सिपमूलक काम गर्ने अवसर प्रदान गरोस् । स्वदेशमै उद्योग स्थापना भएर धैरै नेपालीले यही काम पाउन् भन्ने आशा गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्