Logo
Logo

सरकारले सुकुम्वासीलाई भयावह जोखिममा धकेल्यो : भीष्मराज आङ्देम्बे


63
Shares

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको आरोप लगाएका छन् ।

The current image has no alternative text. The file name is: bhismaraj-angedembe.jpg

उनले सुकुम्वासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाउँदै भने,’प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु- ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ । आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईँले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’

जोखिमबाट जोगाउने नाममा विस्थापित गरिएका सुकुम्वासी नागरिकलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले उनीहरूलाई जोखिमबाट मुक्त गरेको नभई एउटा जोखिमबाट निकालेर अर्को अझ भयावह जोखिममा धकेलेको उनको भनाइ रहेको छ ।  

सुरक्षित आश्रयको आश्वासन पाएका सुकुम्वासी नागरिक आज फेरि भोक, पानी, हिलो, अभाव र असुरक्षाबीच पीडादायी जीवन बिताउन बाध्य भएको आङ्देम्बेको भनाइ छ । उनले यसलाई सुकुम्वासी नागरिकसँग गरिएको सार्वजनिक प्रतिबद्धता पूरा गर्न नसकेको राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र असफल शासनको ज्वलन्त उदाहरण भएको बताएका छन् ।

आङ्देम्बेले सरकारले प्रश्न उठाउने अधिकारसमेत निषेध गर्न खोजेको भन्दै पनि आपत्ति जनाएका छन् । उनले भने, ‘झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो । म सोध्न चाहन्छु-लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो ?’

प्रधानमन्त्री बालेनले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेपछि आत्मसमीक्षा गर्नुको सट्टा प्रश्न गर्ने नागरिकमाथि दमन गर्नु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको आङ्देम्बेको भनाइ छ ।

उनले प्रधानमन्त्री बालेनलाई सुकुम्वासी नागरिकसँग गरेको वाचाको जवाफ दिन आग्रह गर्दै भने, ‘प्रधानमन्त्रीजी, सुकुम्वासी नागरिकसँग गर्नुभएको वाचाको जवाफ दिनुहोस् । किनभने इतिहासले तपाईँका खोक्रा भाषणलाई होइन, नागरिकसँग गरिएका प्रतिबद्धता पूरा भए कि भएनन् भन्ने कुराको हिसाब राख्नेछ ।’

प्रतिक्रिया दिनुहोस्