काठमाडौं । जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल न्याय मार्च आज चौथो दिन सर्लाहीको हरिवन पुगेको छ । उनीहरूले राज्यलाई ब्युँझाउन र आफ्ना हक अधिकार स्थापना गर्न पैदल यात्रा मार्च सुरु गरेका हुन् ।

न्यायको खोजीमा निस्किएका सयौँ सहभागीहरूले ‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेर मार्चमा सहभागी भएका छन् ।
उनीहरू प्रत्येक दिन करिब २०-२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ आइरहेका छन् । उनीहरूले सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाबस्थापना गर्न फेरि काठमाडौंको यात्रा तय गर्नुपरेको बताएका छन् ।
उनीहरूले जनकपुरको तिरहुतियागाछीबाट पैदल मार्च सुरु गरेका थिए । जुन ठाउँमा गत चुनावमा रास्वपाले पहिलो चुनावी सभा गरेको थियो । जहाँबाट पीडितहरूले फर्जी तमसुक जलाएर मार्च सुरु गरेका थिए ।
बालेन्द्र शाहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरूलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ । साउन दोस्रो साता काठमाडौं आइपुग्ने उनीहरूको योजना छन् ।














