काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा खाली ट्रक बगाएको छ ।

प्रहरीका अनुसार बिहान करिब ७:४५ बजे खोलामा आएको बाढीका कारण ह्युम पाइप राखेर बनाइएको कल्भर्ट (लच्का) माथिबाट पानीको बहाव बढ्दा सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको छ ।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दिपक थिङ भने पौडिएर सुरक्षित बाहिर निस्किन सफल भएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बाढीले बगाएको ट्रक भने खोलामै रहेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको छ ।














