काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशभरका १३ स्थानमा सडक सञ्चालन प्रभावित भएको छ । तीमध्ये पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा छ स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने दुई सडकखण्डमा सवारी आवागमन नै रोकिएको छ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ । इलाम नगरपालिका-४ राजदुवालीदेखि तालचुङ सडकखण्डसम्म पर्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भकुण्डे-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ । मकवानपुरको हेटौँडा-भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण सवारी आवागमन बन्द गरिएको छ । भिमफेदी गाउँपालिका–८ पर्खालडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । साथै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा पर्ने नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ । बागलुङको काठेखोला गाउँपालिका–६ इजारापानीस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुडेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ । गुल्मीका कालिगण्डकी गाउँपालिका–२ रानीबास तथा वडा नम्बर ४ पर्तिघाटस्थित कालिगण्डकी करिडोरमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।
कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका मालुवा क्षेत्रमा पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गरेको छ । साथै अवरुद्ध सडक खुलाउने कार्य सम्बन्धित निकायबाट जारी रहेको जनाएको छ ।














