काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गर्नु गलत भएको भन्दै घोर आपत्ति व्यक्त गरेका छन् ।

उनले राज्यले नै नागरिकलाई आतङ्कित बनाउन नहुने धारणा राखेका छन् । झाले बुधवार बिहान फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, “सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ।”
नागरिकको चिन्ता सम्बोधन गर्नुपर्नेमा राज्यले नै थप आतङ्क सिर्जना गर्न नहुने उनको भनाइ छ । “राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैँ थप आतङ्कित बनाउने होइन,” उनले लेखेका छन् । यस्तै उनले राज्यकै संरक्षणमा सञ्चारमाध्यमका अगाडि अव्यवस्थित पार्किङ गरिएकोतर्फ सङ्केत गर्दै प्रश्न गरेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ र ? के यस्तै स्तरहीन र गलत कामका लागि सहादत भएको हो र ? यस किसिमको कामप्रति घोर आपत्ति छ ।”














