Logo
Logo

फ्रान्समा इच्छा मृत्युलाई कानुनी मान्यता


63
Shares

काठमाडौं । फ्रान्सको संसदको तल्लो सदनले इच्छा मृत्युसम्बन्धी विधेयक पारित गरेको छ । वर्षौंदेखि कानुनी, नैतिक र धार्मिक बहसको विषय बनेको यो विधेयक पारित भएसँगै अब निको नहुने गम्भीर रोगबाट पीडित वयस्क बिरामीले निश्चित सर्त पूरा गरेपछि आफ्नै इच्छाले जीवन अन्त्य गर्न चिकित्सकीय सहयोग प्राप्त गर्न सक्नेछन् । राष्ट्रपति इमानुएल म्याक्रोनले तीन वर्षअघि घोषणा गरेको यो विधेयक संसदमा २९१ मतको समर्थन र २४१ मतको विपक्षमा पारित भएको हो ।

The current image has no alternative text. The file name is: france-2.jpg

यसअघि फ्रान्समा चिकित्सकले मृत्युपूर्व अन्तिम अवस्थामा रहेका बिरामीलाई पीडा कम गर्न बेहोस राख्न मात्र पाउँथे, तर इच्छामृत्यु दिन कानुनी अनुमति थिएन । त्यसका कारण धेरै फ्रान्सेली नागरिक इच्छा मृत्युका लागि छिमेकी मुलुक जाने गरेका थिए । नयाँ कानुनअनुसार बिरामीले चिकित्सकले उपलब्ध गराएको घातक औषधि आफैं सेवन गरेर जीवन अन्त्य गर्न सक्नेछन् । शारीरिक रूपमा औषधि सेवन गर्न नसक्ने अवस्थामा मात्र चिकित्सक वा स्वास्थ्यकर्मीले सहयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

यो कानुनअन्तर्गत इच्छा मृत्युका लागि आवेदन दिने व्यक्ति कम्तीमा १८ वर्षको हुनुपर्ने, फ्रान्सको नागरिक वा कानुनी बासिन्दा हुनुपर्ने तथा निको नहुने ज्यान जोखिममा पार्ने रोगका कारण असह्य पीडामा रहेको हुनुपर्नेछ । मानसिक वा मनोवैज्ञानिक पीडालाई मात्र आधार बनाएर इच्छा मृत्युको अनुमति दिइने छैन । साथै, अल्जाइमरजस्ता स्नायुसम्बन्धी क्षयी रोगबाट पीडित व्यक्ति पनि यस व्यवस्थाका लागि योग्य हुने छैनन् । आवेदन बिरामीले स्वयं दिनुपर्नेछ र चिकित्सकीय टोलीले १५ दिनभित्र समीक्षा गरेपछि अन्तिम निर्णयअघि कम्तीमा दुई दिन सोच्ने समय दिइनेछ । उपचार र प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च राष्ट्रिय स्वास्थ्य बिमा प्रणालीले व्यहोर्नेछ ।

यद्यपि, यो कानुनको फ्रान्समा चर्को विरोध पनि भइरहेको छ । संसदको माथिल्लो सदनले यसलाई अस्वीकार गरे पनि फ्रान्सको कानुनी व्यवस्थाअनुसार तल्लो सदनको निर्णय अन्तिम मानिन्छ । अब यो विधेयक संवैधानिक परिषद्मा पठाइने भएको छ । परिषद्ले एक महिनाभित्र यो कानुन संविधानअनुकूल छ वा छैन भन्ने निर्णय गर्नेछ । विरोधी संस्थाहरूले इच्छा मृत्युलाई कानुनी मान्यता दिनुले मानव मर्यादामा आघात पुग्ने, साथै वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिमाथि अप्रत्यक्ष दबाब बढ्न सक्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्