काठमाडौं । फुटबलमा पटकथा हुँदैन भनिन्छ । तर विश्वकप २०२६ को फाइनल हेर्दा लाग्छ, मानौँ सबै कुरा पहिल्यै लेखिएको थियो । नत्र, फिफा वरियताको नम्बर १ र नम्बर २ वरीयताका टिम यसरी फाइनलमा भिड्ने नै थिएनन् । अझ कोपा अमेरिका च्याम्पियन र युरो कप विजेता नै उपाधि भिडन्तका लागि आमने–सामने हुने थिएनन् । अनि विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी लियोनल मेस्सीसामु इतिहासमा अर्को एउटा जादुमयी सुनौलो पाना थप्ने यस्तो अवसर सायदै जुर्ने थियो ।
फिफा विश्वकप उपाधिको लागि निर्णायक महाभिडन्तका लागि न्युयोर्क–न्युजर्सी रंगशालामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र स्पेन आमने–सामने हुँदैछन् । विश्वकपको इतिहास पल्टाउने हो भने यी दुई टिम पूरे ६० वर्षपछि पहिलो पटक भिड्न लागेका हुन् । यसअघि सन् १९६६ को विश्वकपमा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पाखा लगाएको थियो ।
सेमिफाइनलसम्म आइपुग्दा धेरैलाई लागिरहेको थियो– यसपालि कप उठाउन फ्रान्स नै सबैभन्दा बलियो छ, अनि इंग्ल्यान्डले पनि ६ दशक लामो खडेरी तोड्दै फाइनल छिर्न बेर लाउँदैन । तर, अर्जेन्टिना र स्पेनले ती सबै अड्कलबाजीलाई ध्वस्त पार्दै फाइनलमा आफ्नो नाम लेखाए । साँच्चै भन्नुपर्दा, एउटा सच्चा फुटबल प्रेमीले मनमनै चिताएको ’ड्रिम फाइनल’ यही नै हो ।
यो कथा बुझ्न चार वर्षअघि कतार फर्किनुपर्छ, जतिबेला अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग लज्जास्पद रूपमा हारेको थियो । त्यो एकै खेलपछि जताततै मेसी र अर्जेन्टिनाको आलोचना सुरु भयो, धेरैले भने– ’अब मेसीको जमाना गयो, अर्जेन्टिनाले केही नाप्दैन।’ तर त्यसपछि जे भयो, त्यो फुटबल इतिहासकै सबैभन्दा सानदार र रोमान्चक कथा बन्यो । अर्जेन्टिनाले विश्वकप मात्रै जितेन, मेस्सी हरेक अर्थमा सर्वोत्कृष्ट खेलाडी साबित भए ।
मेस्सीका लागि त्यहीं निर संन्यास लिएर रोकिने सुनौलो मौका थियो । तर उनी मानेनन्, अर्को विश्वकप खेल्ने जिद्दी गरिहाले । यही विश्वकप खेल्दाखेल्दै उनी अहिले ३९ वर्षका भइसकेका छन् । उनका कट्टर फ्यानहरूलाई पनि मनमनै डर थियो– ’कतै यो उमेरमा आएर प्रतियोगिता नफाप्ने त होइन?’ तर, त्यस्तो भएन । आफ्नो ब्राण्डका साथ एकपछि अर्को सानदार र सनसनीपूर्ण पुनरागमन गर्दै अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल पुगेको छ ।
अब अर्जेन्टिनासामु ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने ऐतिहासिक मौका छ । ब्राजिलले सन् १९५८ र १९६२ मा यस्तो कीर्तिमान रचेको थियो । तर, त्यो त धेरै पुरानो कथा भइसक्यो । अहिले मेस्सी र उनको टोलीसामु नयाँ पुस्ताका लागि आफ्नै नयाँ इतिहास कोर्ने अवसर छ । तर, अर्जेन्टिनाको अगाडि उभिएको अन्तिम तगारो पनि कम आँक्न मिल्दैन– त्यो हो स्पेन ! स्पेन धेरै कुरामा अर्जेन्टिनाभन्दा बिलकुल फरक छ, त्यसैले यो फाइनल झन् विशेष हुनेवाला छ ।
अर्जेन्टिनाको मुख्य शक्ति भनेकै मेस्सी हुन् । उनका लागि मैदानमा ज्यान फाल्न तयार पूरा टोली छ । मेस्सीले पनि यो विश्वकपमा ८ गोल ठोकिसकेका छन् । विशेषगरी हरेक नकआउट खेलमा अर्जेन्टिनाले जसरी कमब्याक गरेको छ, त्यसले के देखाउँछ भने यो टिम हार्न जान्दैन र यिनीहरूमा विनिङ मेन्टालिटी छ ।
छोटकरीमा भन्दा, अर्जेन्टिना यस्तो खतरनाक टोली हो, जसलाई आक्रामक फुटबल खेल्न त आउँछ नै, मौका पाउँदा गोलमा परिणत गर्न पनि खप्पिस छ । अर्जेन्टिनालाई फाइदा पुग्ने गरी केही निर्णयहरू भएको भन्दै केही आलोचकहरूले खोट नलगाएका पनि होइनन् । तर, यहाँसम्मको उनीहरूको सानदार यात्रा र प्रदर्शन हेर्दा त्यस्ता आरोपहरूमा खासै दम देखिन्न ।
उता स्पेनको कुरा गर्दा, सन् २०१० मा विश्वकप जित्नु अघि र पछि उसले युरोपेली च्याम्पियनसिप जितेर तहल्का मच्चाएको थियो । अहिले पनि यो टोली युरोपेली च्याम्पियनकै धाकका साथ फाइनलमा ओर्लिंदैछ । त्यसैले, इतिहास दोहोरिन बेर लाग्ने छैन ।
युरो कप विजेताको रूपमा स्पेनले फेरि विश्वकप जित्ने सम्भावना बलियो छ । स्पेनी टोलीको सबैभन्दा ठूलो विशेषता भनेको यो कुनै एक खेलाडीमा भर पर्ने टिम नै होइन । स्पेनले जारी विश्वकपमा अहिलेसम्म जम्मा एक गोल मात्र खाएको छ, यसैबाट बुझ्न सकिन्छ कि यिनीहरूको मिडफिल्ड र डिफेन्स कति चट्टान जस्तो मजबुत छ !
पछिल्लो पटक स्पेनले विश्वकप जित्दा उसको छोटो–छोटो पास खेल्ने ’टिकी–टाका’ शैलीको निकै चर्चा हुन्थ्यो । अहिले पनि स्पेनले लगभग त्यस्तै शैलीमा मैदानमा जादू देखाइरहेको छ । यो सबै पृष्ठभूमि हेर्दा एउटा कुरा त ग्यारेन्टी छ– फाइनल खेल एकदमै रोमाञ्चक हुने छ ।
अब कुरा गरौँ, अर्जेन्टिना र स्पेनसँग कस्ता खेलाडी छन् भन्ने ? शुरुवात गरौँ गोलपोस्टबाटै गरौँ । अर्जेन्टिनाको पोस्ट सम्हाल्न ‘डिबु’ अर्थात् एमिलियानो मार्टिनेज तैनाथ छन् । साँच्चै भन्ने हो भने, अर्जेन्टिनाको सबैभन्दा ठूलो ढाल नै डिबु हुन् । पेनाल्टी सुटआउट होस् या खेलको अन्तिम मिनेटको ’डु अर डाई’ अवस्था, यो मान्छे कहिल्यै डराउँदैन । विपक्षीलाई मानसिक दबाब बढाउने उनको आफ्नै काइदा छ । उत्कृष्ट रिफ्लेक्स र निर्णायक क्षणमा चामत्कारिक बचाउ गर्ने क्षमताले उनलाई विश्वकै सर्वोत्कृष्ट गोलकिपर बनाएको हो । पेनाल्टी सुटआउटमा त उनको आत्मविश्वास झन् खतरनाक देखिन्छ । कतार विश्वकपको फाइनल र नेदरल्यान्ड्सविरुद्धको पेनाल्टीमा उनले गरेको बचाउ आज पनि खेलप्रेमीको मानसपटलमा ताजा छ । उनी टोलीका लागि यस्ता ’लक्की चार्म’ हुन्, जसले देशका लागि अहिलेसम्म एउटै पनि फाइनल हारेका छैनन् ।
उता स्पेनका गोलकिपर उनाई सिमोन पनि के कम ! जारी प्रतियोगितामा उनले जम्मा एक गोल मात्र खाएका छन् । शान्त स्वभावका सिमोन उत्कृष्ट रिफ्लेक्स र बल पासिङमा निपुण छन् । स्पेनको रक्षापङ्क्ति अभेद्य हुनुमा उनको ठूलो हात छ । यी दुईको तुलना गर्दा, चालु प्रतियोगितामा तथ्याङ्कका हिसाबले सिमोन उत्कृष्ट देखिए पनि पेनाल्टीको ‘कन्फिडेन्स’ मा भने उनी डिबु जति प्रभावशाली छैनन् । तर, आफ्नो उमेर र फर्मका कारण सिमोनभन्दा डिबु पनि कम छैनन् ।
डिफेन्सको तुलना गर्दा अर्जेन्टिनाको रक्षापङ्क्ति निकै आक्रामक छ । क्रिस्टियन रोमेरो विपक्षी स्ट्राइकरलाई सास फेर्नै दिँदैनन्, लगातार दबाबमा राख्छन् । बल खोस्न जस्तोसुकै कडा ट्याकल गर्न पनि उनी पछि हट्दैनन् । उनलाई लिसान्द्रो मार्टिनेजको संयमित खेलले बलियो सन्तुलन दिएको छ । यता निकोलस ट्याग्लियाफिको र नाहुएल मोलिनाले विङ्गमार्फत डिफेन्स र अट्याक दुवै तिर तारन्तार दौडिएर टोलीलाई मद्दत गर्छन् ।
अब स्पेनको डिफेन्सको त कुरै नगरौँ, यहाँ सबै ‘एकसे एक’ छन् । लेफ्ट ब्याक मार्क कुकुरेला त यो सिजन कमालको फर्ममा छन् । कहिलेकाहीँ त लाग्छ उनी डिफेन्डर होइनन्, फरवार्ड नै हुन ! उनी विपक्षीको अट्याकरलाई रोक्ने मात्र होइन, विपक्षीको डिफेन्सिभ बक्समै पुगेर आक्रमण बुन्न भ्याउँछन् । तर, यसरी बढी अगाडि बढ्दा कहिलेकाहीँ आफ्नो पोजिसन छोड्ने हुनाले टोली काउन्टर अट्याकमा पर्न सक्ने जोखिम रहन्छ ।
यसैगरी राइट ब्याक पेद्रो पोरो पनि उत्कृट फर्ममै छन् । कुकुरेला जस्तै उनीसँग पनि रोक्ने र आक्रमण गर्ने दुवै क्षमता छ । तर, उनको कमजोरी पनि उही हो, जोसिएर पोजिसन छोड्दा पछाडि खाली ठाउँ बन्न सक्छ । त्यस्तै, १९ वर्षका सेन्टर ब्याक पाउ कुबार्सी निकै भरपर्दा डिफेन्डर हुन् । उमेर कलिलो भएपनि मैदानमा उनको आत्मविश्वास असाधारण देखिन्छ । खेलको मुभ बुझ्न र रणनीति बनाउन उनी निकै खप्पिस छन् । तर, उनले अहिलेसम्म ठूला र हाइ–भोल्टेज खेलको दबाब झेलिसकेका छैनन् । अर्कोतिर, अनुभवी एमेरिक लापोर्टले स्पेनको डिफेन्स लाइनलाई अझ मझबुत र परिपक्व बनाएका छन् ।
अब कुरा गरौँ यो खेलको मुख्य पावरहाउस अर्थात् मिडफिल्डको । यी दुवै टोलीसँग विश्वस्तरीय मिडफिल्डरहरू छन् । खेलको असली भिडन्त र टक्कर यही लाइनमा हुने निश्चित छ । यो चक्रव्यूहबाट जसले बल नियन्त्रण गरेर अगाडि निकाल्न सक्छ, नतिजा उसैको पोल्टोमा जाने देखिन्छ । अर्जेन्टिनासँग मैदानमा लड्ने क्षमता र जुझारुपन छ भने स्पेनसँग शतप्रतिशत पासिङ एक्युरेसी र खेलको गति आफ्नो इसारामा नचाउने क्षमता छ ।
मिडफिल्डमा अर्जेन्टिनासँग रोड्रिगो डे पउल, एन्जो फर्नान्डेज र म्याक अलिस्टर जस्ता लडाकु हुँदा स्पेनसँग रोड्री, पेड्रि, फबियन रुइज र ड्यानी ओल्मो जस्ता जादुगर छन् । एन्जो फर्नान्डेजले खेलको गति नियन्त्रण गर्छन्, म्याक एलिस्टरले सही समयमा ‘पिन–पोइन्ट’ निर्णायक पास निकाल्छन्, अनि टोलीका असली इन्जिन रोड्रिगो डे पाउल रक्षादेखि आक्रमणसम्म निरन्तर दौडिएर कप्तान मेसीका लागि खुल्ला मैदान बनाइदिन्छन् ।
यता, स्पेनका रोड्री अहिले विश्वकै उत्कृष्ट मिडफिल्डर हुन् । बलोन डिओर विजेता उनी स्पेनको मुटु हुन् । उनले सिधै गोल नगरे पनि खेल नियन्त्रण, पासिङ, बल खोस्ने कला र गजबको नेतृत्व क्षमता प्रदर्शन गर्छन् । फबियन रुइज लामो दूरीको प्रहार र बक्सभित्र छिर्ने क्षमताका लागि चिनिन्छन्, तर विपक्षीले कडा प्रेस गर्दा कहिलेकाहीँ उनीबाट गल्ती हुने गरेको छ । अट्याकिङ मिडफिल्डर ड्यानी ओल्मो पनि लयमा छन् । पास, ड्रिब्लिङ र स्पेस खोज्ने क्षमता अब्बल भएपनि ट्याकलिङमा उनी अलि कमजोर देखिन्छन् । तर पेड्रि, गाभी र डानी ओल्मोको खुट्टामा बल परेपछि विपक्षीले खोस्न निकै पापड पेल्नुपर्छ ।
फरवार्ड लाइनमा पुगेपछि चर्चा स्वतः लियोनल मेसी र लामिन यमालकै हुन्छ । मेस्सी र यमालको सम्बन्धबारे हामीले यसअघिकै इपिसोडमा विस्तृत रुपमा चर्चा गरिसकेका छौँ । पक्कै पनि त्यो पनि हेर्नुभएकै होला । ३९ वर्षका मेस्सी अहिले पनि अर्जेन्टिनाका सबैभन्दा ठूला हतियार हुन्, जो आफैँ गोल गर्न र जुलियन आल्भारेज तथा लाउटारो मार्टिनेज जस्ता घातक स्ट्राइकरहरूका लागि अवसर सिर्जना गर्न खप्पिस छन् । आल्भारेजको अथक प्रेसिङ र लाउटारोको क्लिनिकल फिनिसिङले अर्जेन्टिनाको आक्रमणलाई अत्यन्तै खतरनाक बनाएको छ ।
यता, लामिन यमाल विश्व फुटबलका नयाँ सुपरस्टार हुन् । मात्र १९ वर्षको उमेरमा उनी विश्वकै उत्कृष्ट विङ्गरमा गनिइसकेका छन् । यमालसँगै अर्को विङबाट कुद्ने तीव्र गतिका निको विलियम्सले जुनसुकै डिफेन्सलाई छिनभरमै ध्वस्त पार्न सक्छन् । उनीहरूको गति र ड्रिब्लिङ रोक्न विपक्षी डिफेन्सलाई ठूलो चुनौती हुनेछ । साथै, रियल सोसिडाडका कप्तान मिकेल ओयारजाबललाई नजरअन्दाज गर्न मिल्दैन, जसले जारी प्रतियोगितामा पाँच गोल गर्दै स्पेनका लागि शीर्ष गोलकर्ता बनेका छन् । त्यस्तै, लेफ्ट विङमा एलेक्स बाएनाको रचनात्मक खेल र उत्कृष्ट क्रसिङ पनि टोलीको अर्को हतियार हो ।
अन्ततः फुटबलमा काजगले मात्रै जितिँदैन, जसले मैदानमा खेल्छ उसैले जित्छ । नाम र विरासत जतिसुकै ठूलो भए पनि मैदानमा जसले दबाबलाई पन्छाएर अवसरको सही सदुपयोग गर्छ, विजयको माला उसैको गलामा पर्छ । यदि व्यक्तिगत प्रतिभा तुलना गर्ने हो भने अर्जेन्टिनामा मेस्सी, मार्टिनेज, रोमेरो र अल्भारेज जस्ता म्याच विनर खेलाडी छन्, जसले एक्लै खेलको परिणाम बदल्न सक्छन् । तर सामूहिक खेल, बल नियन्त्रण र टोलीको बुट्टादार संरचना हेर्दा स्पेनमा रोड्री, पेड्री, ओल्मो, यमाल, कुबार्सी र कुकुरेला जस्ता खेलाडीले अत्यन्त सन्तुलित टोली बनाएका छन् ।
यसैले यो फाइनल स्टार खेलाडीहरूको भिडन्तभन्दा पनि अनुभव भर्सेस युवा ऊर्जा र सामूहिक फुटबलको लडाइँ हुने प्रस्ट छ । के मेसीको जादु र अर्जेन्टिनाको विनिङ मेन्टालिटीले इतिहासलाई पुनः दोहो¥याउनेछ, या युवा जोस बोकेको स्पेनले बाजी मर्ला ? इतिहासको यो महासङ्ग्राममा अन्ततः कसले मार्ला त बाजी ? कृपया कमेन्ट गर्नुहोला । ०००














