Logo
Logo

हर्मुजमा इरान-ओमान सहमति नजिक


378
Shares

काठमाडौं । इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

The current image has no alternative text. The file name is: harmoz.jpg

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र तेस्रो पक्षबाट अवरोध नभए संयुक्त वक्तव्य पनि चाँडै अन्तिम रूप दिइने बताए । उनका अनुसार ओमानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि त्यसले तत्काल सबै जहाजका लागि जलघाँटी पूर्ण रूपमा सुरक्षित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारे ।

बाकाईले हर्मुजमा विद्यमान सुरक्षा जोखिमको मुख्य कारण अमेरिकाले इरानी बन्दरगाहमाथि कायम राखेको नौसैनिक नाकाबन्दी तथा इरानविरुद्धका अन्य आक्रामक गतिविधि रहेको दाबी गरे ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले हर्मुज जलघाँटीमाथि कडा नियन्त्रण कायम गर्दै अनधिकृत समुद्री मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान हर्मुज पुनः खोल्ने सहमतिनजिक पुगेको दाबी गर्दै आएका छन् । तर इरानले वासिङ्टनसँग कुनै वार्ता नभएको र समाधान ओमानसँगको समन्वयमार्फत खोजिरहेको जनाएको छ ।

यसैबीच, बेलायतको समुद्री सुरक्षा निकाय (युकेएमटीओ)ले ओमानको कुम्जार क्षेत्रनजिक हर्मुज पार गरिरहेको एक तेल ट्याङ्करका चालकदलले दुईवटा विस्फोटको आवाज सुनेको जानकारी दिएको छ । घटनामा जहाज र चालकदल सुरक्षित रहेको जनाइएको छ ।

यमनका हुथी विद्रोहीले पनि दुई साउदी तेल ट्याङ्करमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनीहरूका सैन्य प्रवक्ता याह्या सारीले उत्तरी लालसागरस्थित यानबु बन्दरगाहनजिक रहेको ‘वाफा’ र एडेनको खाडीमा रहेको ‘डेजी’ नामक ट्याङ्करलाई लक्षित गरिएको बताउनुभएको छ । यसबारे साउदी अरबले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

युद्धअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात हर्मुज जलघाँटीमार्फत हुने गरेको थियो । त्यसयता यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पटक–पटक मूल्य वृद्धि गराएको छ ।

अमेरिकी उपराष्ट्रपति जे। डी। भान्सले इरानसँगको कूटनीतिक प्रक्रिया जटिल र समय लाग्ने स्वीकार गर्दै इरानी नेतृत्वभित्रको आन्तरिक विभाजनले पनि वार्तालाई कठिन बनाएको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग सहमति गर्न सहज नहुने धारणा व्यक्त गरे ।

इरानले जलघाँटी प्रयोग गर्ने जहाजलाई आफ्नो तटीय मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ भने धेरै अन्तर्राष्ट्रिय जहाजहरूले ओमानतर्फको दक्षिणी समुद्री मार्ग रोजिरहेका छन् । विश्लेषकहरूका अनुसार इरान हर्मुज जलडमरूमध्यमाथि थप प्रत्यक्ष नियन्त्रण कायम गरी शुल्क प्रणाली लागू गर्ने तयारीमा छ भने अमेरिकाले त्यसको कडा विरोध गर्दै आएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले गत साता इरानमाथि कडा आक्रमण गर्न सकिने चेतावनी दिनुभएको थियो । त्यसको केही समयपछि उहाँले सम्झौताको सम्भावना नजिक रहेको सङ्केत दिनुभएको थियो । तर इरानको विदेश मन्त्रालयले वासिङ्टनसँग कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई पुनः अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्