काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ ।

छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दलाई लिएर विवाद उत्पन्न भएको हो । बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादनमा असर पुग्ने बताए ।
उनले सांसदहरू सार्वभौम जनताका प्रतिनिधि भएकाले समितिमा आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउनुपर्ने जिकिर गरे ।
छलफलका क्रममा सांसद सिंहले आफूले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दको बचाउ गर्दै मुलुकमा प्रतिव्यक्ति सुरक्षाकर्मीको संख्याका आधारमा सो टिप्पणी गरेको तर्क गरे ।
रास्वपाकै सांसद रमेश प्रसाईंले सिंहको भनाइप्रति असहमति जनाएपछि स्थिति केही समय तनावपूर्ण बनेको थियो । सिंहले सभापतिलाई सम्बोधन गर्दै आफूलाई कम नआँक्न र आफ्ना तर्कहरू प्रमाणित गर्न चुनौती समेत दिए ।
यस्तो छ सांसद सिंहको भनाइ :
समितिमा एक–अर्काको कुरा खण्डन गरेर समय व्यतित गर्ने हो भने कुनै पनि काम अगाडि बढ्न सक्दैन । समितिको आफ्नै मर्यादा हुन्छ, त्यसैले यसलाई वादविवादको थलो बनाइनु हुँदैन । माननीय सदस्यहरूले आफ्नो धारणा स्वतन्त्र रूपमा राख्ने अधिकार राख्नुहुन्छ । समितिमा प्रत्येक सदस्यले आफ्नो विचार प्रस्तुत गर्ने हो, तर एकअर्काको अभिव्यक्तिको खण्डनमै समय खर्च गर्नु उपयुक्त हुँदैन । म सभापतिज्यूलाई पनि यही अनुरोध गर्न चाहन्छु कि समितिको छलफललाई रचनात्मक र विषयकेन्द्रित बनाइयोस् । हामी नयाँ समितिमा पहिलोपटक आएका होइनौँ ।
मलाई लागेको कुरा म राख्छु, उहाँलाई लागेको कुरा उहाँले राख्नुहुन्छ । तर एकअर्काको भनाइको निरन्तर खण्डन गर्न थाल्यौँ भने समितिको छलफल प्रभावकारी रूपमा अघि बढ्न सक्दैन । समितिको आफ्नै गरिमा, मर्यादा र कार्यपद्धति हुन्छ । त्यसैले सबै सदस्यले एकअर्काको विचारको सम्मान गर्दै विषयवस्तुमा केन्द्रित भएर छलफल गर्नु नै उपयुक्त हुन्छ ।
विवाद बढ्दै गएपछि रास्वपाका सांसद रमेश प्रसाईंले अग्रजसँग माफी चाहन्छु भनेर क्षमायाचना गरेपछि बैठक पुनः सुचारु भएको थियो ।














