Logo
Logo

ट्रान्सफर मार्केटमा माइन्ड गेम, रियल र बार्साको मैदानबाहिरको खेल (भिडियोसहित)


0
Shares

काठमाडौं । फुटबलमा गोल हान्ने प्रतिस्पर्धा त सबैले देख्छन् । तर युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धा रियल मड्रिड र बार्सिलोनाबीचको एल क्लासिको मैदानभित्र मात्रै हुँदैन, ट्रान्सफर बजारमा पनि हुन्छ । कुन खेलाडीलाई कसले किन्छ ? कति पैसा तिर्छ ? कुन क्लबले अर्को क्लबको हातमा खेलाडी पर्न नदिन के–के चाल चल्छ ? यी प्रश्नको उत्तर खोज्दै जाँदा थाहा हुन्छ-रियल र बार्साबीचको प्रतिस्पर्धा ९० मिनेटको खेलमा सीमित छैन । यो त वर्षभरि नै चलिरहन्छ ।

कतिपय अवस्थामा एउटा क्लबलाई कुनै खेलाडी साँच्चै चाहिएको हुन्छ । तर अर्को क्लबको उद्देश्य त्यो खेलाडी आफैँ किन्नु मात्रै हुँदैन, प्रतिद्वन्द्वीलाई बलियो बन्न नदिनु पनि हुन्छ । त्यसैले कहिलेकाहीँ ट्रान्सफर बजारमा नाम मात्रै जोडिन्छ, चासो देखाइन्छ, एजेन्टसँग भेट हुन्छ, सञ्चारमाध्यममा समाचार चुहाइन्छ, तर अन्तिममा खेलाडी किनिँदैन । तर त्यतिन्जेल एउटा काम भने भइसकेको हुन्छ, खेलाडीको मूल्य बढिसकेको हुन्छ । फुटबलमा यसलाई ‘ट्रान्सफर गेम’ भनिन्छ । यो खेल मैदानको खेलभन्दा कम रोचक हुँदैन ।

अहिलेको ज्वलन्त उदाहरण हुन् अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेज । बार्सिलोनाले उनलाई आफ्नो दीर्घकालीन स्ट्राइकरका रूपमा हेरेको छ । रोबर्ट लेवान्डोस्कीको विकल्प खोजिरहेको बार्साका लागि अल्भारेज सबैभन्दा उपयुक्त विकल्प मानिएका छन् । बार्साले अल्भारेजमा चासो देखाउन थालेपछि रियलको पनि ध्यान त्यतै गयो । त्यसै पनि रियल लगातार दुई सिजन ट्रफीविहीन छ । घरेलु लिगमा बार्साको दबदबा छ । यस्तो अवस्थामा रियल आफ्नो प्रतिस्पर्धीलाई अझ बलियो बन्न दिन चाहँदैन ।

त्यसपछि रियलले पनि अल्भारेजमा बेट हान्यो । १५० मिलियन युरोसम्म तिर्न तयार रहेको खबर आयो । एथ्लेटिको मड्रिडसँग प्रस्ताव पनि राखियो । एथ्लेटिकोले भने उनको मूल्य ५०० मिलियन युरो रहेको बताइदियो, जुन कुरा सामाजिक सञ्जालमा ट्रोलसमेत बन्यो । वास्तवमा रियललाई अल्भारेज त्यति आवश्यक थिएनन् । उसको उद्देश्य आर्थिक संकटसँग जुधिरहेको बार्सिलोनालाई झन् अप्ठ्यारोमा पार्नु र अल्भारेजलाई क्याम्प नोउ पुग्न नदिनु थियो ।

रियलसँग अहिले पैसाको कमी छैन, कमी छ त ट्रफीको । त्यसैले उसले अल्भारेजको मूल्य बढाउने खेल खेल्यो । दुई ठूला क्लब एउटै खेलाडीको पछि लागेपछि मूल्य स्वतः बढ्छ । बार्साले किन्न खोजेको खेलाडीमा रियलको नाम जोडिएपछि एजेन्टको बार्गेनिङ शक्ति बढ्छ । बेच्ने क्लबले पनि मूल्य बढाउने अवसर पाउँछ ।
अन्ततः खेलाडी जुनसुकै क्लबमा जाओस्, एउटा काम भने भइसकेको हुन्छ– प्रतिद्वन्द्वीको खर्च बढाइदिने । अल्भारेजको केसमा पनि त्यही भयो । अहिले अल्भारेजबाट रियल पछि हटिसकेको छ । तर बार्सा भने अझै उनलाई भित्र्याउने प्रयासमै छ ।

यही रणनीतिको अर्को उदाहरण हुन् स्पेनिस मिडफिल्डर रोड्री । लामो समयदेखि उनको नाम रियल मड्रिडसँग जोडिँदै आएको छ । टोनी क्रुसको अवकाशपछि खेल नियन्त्रण गर्न सक्ने र नेतृत्व दिन सक्ने मिडफिल्डरको खोजीमा रहेको रियलका लागि रोड्री सबैभन्दा उपयुक्त विकल्प मानिन्छन् ।

रियलले चासो देखाएपछि बार्साले पनि छड्के हान्ने प्रयास ग¥यो । विश्वकपपछि रोड्रीको चर्चा झन् बढेको छ । तर बार्सिलोनाका लागि उनी त्यति अपरिहार्य खेलाडी होइनन्, जति रियलका लागि हुन् । बार्सासँग पेड्री, गाभी र फ्रेन्की डे जोङजस्ता विश्वस्तरीय मिडफिल्डर छन् । यी तीनजना हुँदा रोड्रीको खासै खाँचो पर्दैन ।

तर बार्साले पनि रियललाई सजिलै बलियो बन्न दिन चाहँदैन । त्यसैले उसले पनि टिट फर ट्याट ग¥यो । रियलले अल्भारेजमा जस्तै मूल्य बढाउने खेल खेलेको थियो, बार्साले रोड्रीमा त्यही खेल खेल्यो । बार्साको नाम जोडिएपछि रोड्रीको मूल्य पनि बढ्ने भयो । त्यसपछि रियलले पनि बढी खर्च गर्नुपर्ने अवस्था आउन सक्छ । धेरै पैसा एउटा खेलाडीमा खर्च भयो भने अर्को स्थानमा लगानी घट्न सक्छ ।

अब किन गरिन्छ यस्तो? भन्नेबारे पनि चर्चा गरौँ । धेरै समर्थकलाई लाग्न सक्छ– ‘चाहिँदैन भने किन नाम जोडिन्छ ?’ तर आजको फुटबलमा ट्रान्सफर भनेको खेलाडी किन्ने प्रक्रिया मात्रै होइन । यो मनोवैज्ञानिक, आर्थिक र रणनीतिक युद्ध पनि हो । एउटै खेलाडीमा दुई वा तीन ठूला क्लबको चासो देखियो भने खेलाडीले बढी तलब माग्न सक्छ । एजेन्टले ठूलो कमिसन माग्न सक्छ । बेच्ने क्लबले मूल्य बढाउन सक्छ । सम्झौता लम्बिन सक्छ । प्रतिद्वन्द्वीको बजेट बिग्रन सक्छ ।

हुन त यो कुनै नयाँ कुरा होइन । रियल र बार्साबीच यस्तो प्रतिस्पर्धा दशकौँदेखि चल्दै आएको छ । तर ट्रान्सफर बजारको कुरा गर्दा एउटा नाम बिर्सनै मिल्दैन– लुइस फिगो । फुटबल इतिहासको सबैभन्दा विवादित, नाटकीय र खतरनाक ट्रान्सफर कुन हो भनेर सोध्यो भने धेरैको उत्तर एउटै हुन्छ– सन् २००० मा लुइस फिगोको बार्सिलोनाबाट रियल मड्रिडमा जानु ।

यो सामान्य ट्रान्सफर थिएन । यो त बार्सिलोनाको मुटुमै छुरा रोप्ने चाल थियो, जसले स्पेनिस फुटबलको इतिहास नै बदलिदियो । सन् १९९० को दशकको अन्त्यतिर फिगो बार्सिलोनाका लागि केवल स्टार खेलाडी मात्र थिएनन् । उनी क्याटालोनियाका भगवान् जस्तै थिए । जसरी कुनै बेला मेस्सी बार्साका लागि प्रिय थिए, फिगो पनि त्यत्तिकै प्रिय थिए । फ्यानहरूले उनलाई औधि माया गर्थे । उनी आफैँ पनि सार्वजनिक कार्यक्रममा रियल विरोध गर्थे । तर पर्दापछाडि उनी र उनका एजेन्ट होसे भेइगाले तलब बढाउन चाहिरहेका थिए । बार्सिलोनाका तत्कालीन अध्यक्ष जोसेप लुइस नुनेजले त्यो मागलाई खासै महत्व दिएनन् । यहीँबाट सुरु भयो फुटबल इतिहासकै ठूलो माइन्ड गेम ।

सन् २००० मा रियल मड्रिडको अध्यक्ष पदको चुनाव हुँदै थियो । तत्कालीन अध्यक्ष लोरेन्जो सान्सले तीन वर्षमै दुई पटक च्याम्पियन्स लिग जिताइसकेका थिए, त्यसैले उनको जित लगभग निश्चित मानिन्थ्यो । तर धनाढ्य व्यापारी फ्लोरेन्टिनो पेरेजसँग एउटा यस्तो योजना थियो, जसले स्पेनको फुटबल नै हल्लाइदियो ।

पेरेजले फिगोका एजेन्टसँग गोप्य सम्झौता गरे । यदि उनी चुनाव जिते भने फिगो रियल आउनैपर्ने । यदि जितेपछि पनि फिगो आएनन् भने फिगोले ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने । तर यदि पेरेज चुनाव हारे भने फिगोले सित्तैमा ३ मिलियन युरो पाउने ।

फिगो र उनका एजेन्टले सोचे– “पेरेज जित्ने सम्भावना छैन। तीन मिलियन युरो पनि पाइने भयो, अनि यो सम्झौता देखाएर बार्सासँग तलब पनि बढाउन सकिन्छ ।’ उनीहरूले सम्झौतामा हस्ताक्षर गरिदिए ।

तर पेरेजले चुनावी अभियानमै घोषणा गरिदिए– ‘यदि म अध्यक्ष बनेँ भने लुइस फिगो रियल मड्रिडमा हुनेछन् । यदि ल्याउन सकिनँ भने सबै सदस्यको अर्को वर्षको सदस्यता शुल्क म आफैँ तिरिदिन्छु ।’

यो घोषणाले चुनावको माहोल नै बदलिदियो । पेरेजले अप्रत्याशित रूपमा चुनाव जिते । त्यसपछि फिगो धर्मसंकटमा परे । रियल नगए ३० मिलियन युरो जरिवाना तिर्नुपर्ने । उनी बार्सिलोनाका नयाँ अध्यक्ष ग्यास्पार्टकहाँ पुगेर भने– ‘यो जरिवाना क्लबले तिरिदिए म बार्सामै बस्छु ।’ तर अध्यक्षले ठाडै अस्वीकार गरे । प्रतिस्पर्धी क्लबसँग गोप्य सम्झौता गर्ने खेलाडीका ३० मिलियन तिर्न नसक्ने बताए ।

त्यसपछि बार्सिलोनासँग विकल्प बाँकी रहेन । पेरेजले फिगोको रिलिज क्लज करिब ६० मिलियन युरो सिधै तिर्न तयार भइसकेका थिए । अन्ततः २४ जुलाई २००० मा फिगो रियल मड्रिडको सेतो जर्सीमा सार्वजनिक भए । यही ट्रान्सफरबाट चर्चित ‘गालाक्टिकोस’ युग सुरु भयो ।

पछि जब फिगो पहिलोपटक क्याम्प नोउ फर्किए, त्यहाँको माहोल फुटबल खेलजस्तो थिएन, युद्धभूमिजस्तो थियो । उनलाई गद्दार भन्दै नाराबाजी भयो । २००२ को खेलमा कर्नर हान्न जाँदा उनीमाथि बोतल, काँचका बट्टा र एउटा काटिएको बंगुरको टाउकोसमेत फ्याँकियो । अवस्था यति तनावपूर्ण बन्यो कि रेफ्रीले केही समय खेल रोक्नुपरेको थियो । फिगोको यही ट्रान्सफरपछि रियल र बार्सिलोनाबीचको सम्बन्ध झन् विषाक्त बन्यो । त्यसयता दुवै क्लबले ट्रान्सफर बजारमा एकअर्काविरुद्ध सम्भावित सबै रणनीतिक चाल चल्न थाले ।

बार्सिलोना र रियल दुवै विश्व फुटबलका सबैभन्दा ठूला ब्रान्ड हुन् । तर आर्थिक अवस्था सधैँ उस्तै हुँदैन । पछिल्ला वर्षमा बार्सिलोनाले आर्थिक संकट झेल्यो । त्यसैले उसले हरेक ठूलो ट्रान्सफर निकै हिसाब गरेर गर्नुपर्छ । रियल भने तुलनात्मक रूपमा आर्थिक रूपमा बलियो देखिन्छ ।

यस्तो अवस्थामा बार्साले चाहेको खेलाडीको मूल्य कृत्रिम रूपमा बढाइयो भने त्यो बार्साका लागि ठूलो चुनौती बन्छ । त्यस्तै, रियलले पनि कुनै खेलाडीमा धेरै खर्च गर्नुप¥यो भने अर्को योजनामा असर पर्न सक्छ । त्यसैले ट्रान्सफर बजारमा जित्नु भनेको खेलाडी जित्नु मात्रै होइन, प्रतिद्वन्द्वीको योजना बिगार्नु पनि हो ।

सामाजिक सञ्जालले यो प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ । आज समाचार आउँछ–रोड्री र रियल समहमति नजिक । भोलिपल्ट अर्को समाचार आउँछ– बार्सिलोनाले पनि सम्पर्क ग¥यो । त्यसपछि समर्थकहरूबीच बहस सुरु हुन्छ । कसैले भन्छ– हाम्रो क्लब धनी छ, हामी किन्छौँ । अर्कोले भन्छ– उनीहरू त मूल्य बढाउन मात्रै आएका हुन् । खेलाडी त चाहिएकै होइन ।

यस्ता बहसले क्लबको ब्रान्ड मूल्य पनि बढाउँछन् । तर हरेक ट्रान्सफर अफवाह मूल्य बढाउने रणनीति मात्रै हुँदैन । कहिलेकाहीँ दुवै क्लबलाई साँच्चै एउटै खेलाडी चाहिएको हुन्छ । तर जब कुनै क्लबलाई खासै आवश्यकता नदेखिँदा पनि उसको नाम जोडिन्छ, त्यहाँ रणनीतिक चालको सम्भावना बलियो हुन्छ ।

एल क्लासिको भनेको रियल र बार्सिलोनाबीचको ९० मिनेटको खेल मात्रै होइन । यो दुई दर्शन, दुई ब्रान्ड, दुई आर्थिक शक्ति र दुई रणनीतिकबीचको प्रतिस्पर्धा पनि हो । अल्भारेजको नाममा देखिएको प्रतिस्पर्धा होस् वा रोड्रीलाई लिएर बढेको चर्चा, यी घटनाले एउटा कुरा फेरि पुष्टि गरेको छ– रियल र बार्सिलोना एकअर्कालाई केवल हराउन मात्रै चाहँदैनन्, एकअर्कालाई बलियो हुनबाट पनि रोक्न चाहन्छन् ।

आजको आधुनिक फुटबलमा ट्रफी जित्ने क्लब राम्रो खेल्ने मात्रै होइन । राम्रो योजना बनाउने, सही समयमा चाल चल्ने र आवश्यक परे प्रतिद्वन्द्वीको योजना नै बिगार्न सक्ने क्लब पनि सफल हुन्छ । यही मनोवैज्ञानिक युद्ध र यही रणनीतिक प्रतिस्पर्धाले रियल र बार्सिलोनाको प्रतिद्वन्द्वितालाई विश्व फुटबलकै सबैभन्दा रोचक बनाउने गरेको छ । ०००

प्रतिक्रिया दिनुहोस्