
रक्षा थापा कलाकार बन्ने कुनै रुचि नभए पनि कल्पना नै नगरेको पेशामा प्रवेश गरेर सफलता हात पारेकी छिन् । कलाकारिता क्षेत्रमा नाम दाम कमाएर आफ्नो छुट्टै पहेचान बनाउन सफल भएकी उनी यतिबेला भने यो क्षेत्रमै अत्यन्त खुशी रहेको बताउँछिन् । अझै राम्रो कलाकार बन्ने प्रयासमा रहेकी उनले दर्जनांै म्युजिक भिडियो, दश वटा भन्दा बढी नाटक, सर्ट मुभी र ३ वटा सिनेमामा काम गरिसकेकी छिन् । उनी अभिनित चलचित्र ‘मास्टर्नी’ यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउँदै छ । उनै कलाकार रक्षा थापासँग रेजिना पाण्डेको जम्काभेटः
भदौ ५ गतेदेखि तपाईँ अभिनित चलचित्र ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?
धैरै नै उत्साहित छु । हाम्रो यो चलचित्रलाई धैरैले माया गर्नुहुन्छ भन्ने कुरामा आशावादी पनि छु । टिमले राम्रो काम गरेको छ । सिनियर कलाकारहरुले काम गर्नुभएको छ । नयाँ कन्सेप्टमा सिनेमा बनेकाले चलचित्रमा दशर्कले नयाँपन पाउन सक्नुहुन्छ ।
चलचित्र चल्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?
छु, सफलता पाउनकै लागि काम गर्ने हो । धेरै आशा गरेको छु । सँगसँगै मिहेनत पनि सक्दो गरेकै छौं । म मात्रै होइन, सम्पूर्ण टिम नै चलचित्र चल्छ भन्नेमा ढुक्क छौं ।
तपाईँलाई चलचित्रमा कस्तो भूमिकामा देख्न पाउँछौं ?
अहिलेसम्म गरेको भन्दा फरक भूमिका छ । पक्कै पनि दशर्कको लागि यो नयाँ अवतार मनपर्ने छ । अहिलेसम्म सबैले मेरो कामको प्रशंसा नै गर्नुभएको छ ।
यो चलचित्रको गीत निकै विवादित पनि बन्यो हैन ?
हो, विवादित बनेकै कारण चलचित्रबाट उक्त गीत हटाइएको छ । दर्शक श्रोताबाट नकारात्मक कमेन्ट आउन थालेपछि गीत हटाइएको हो । तर धेरैले गीत पन पराएर टिकटक पनि बनाउनुभएको छ ।
गीत भन्दा पनि अझै भिडियो अश्लिल भएको भनेर विवादमा तानियो नि ?
हो, दर्शकले मन नपराएपछि कसैको केही लागेन । अरु कुरा भन्नु भन्दा पनि दर्शकले मन नपराएपछि सिनेमाबाट गीत र भिडियो नै हटाइयो ।
धैरैले यसलाई चलचित्र चलाउने उपाय पनि भने नि !
जे सम्झे पनि हुन्छ । आफनो चलचित्रको प्रमोशन गर्न जसले पनि पाउँछ । यसलाई चलचित्र चलाउने उपाय नै हो भन्नु चाहिँ गलत हुन्छ । राम्रो नराम्रो चाहिँ भन्ने अधिकार दर्शकलाई छ ।
तपाईँ निकै राम्री हुनुहुन्छ, रुपको घमण्ड हुन्छ कि हुँदैन ?
मलाई त्यस्तो लाग्दैन । रुप त अस्थायी चिज हो, आज छ भोलि नहुन सक्छ । त्यो भन्दा पनि मान्छेको बोलीचाली र व्यवहार नै सबैभन्दा उत्तम गुण हो जस्तो मलाई लाग्छ ।
तर यही सुन्दरताले नै तपाईँलाई राम्रो कलाकार बनाएको होइन र ?
मान्छेको आफनो विचार हो । जसले जसरी सोचे पनि केही फरक पर्दैन । तर रुपले मात्र क्षमता मापन गर्दैन, ठूलो कुरा‘ट्यालेन्ट’ हो ।
उमेर पुग्यो विवाहको ‘प्रेसर’ आएको त छैन ?
त्यो त भइ नै हाल्छ नि । उमेर पुगेपछि विवाहको प्रेसर आउनु सामान्य हो । तर मेरो योजना भने विवाह गर्ने छैन । म विवाह नगर्न पनि सक्छु । यसमा मैले परिवारलाई पनि ‘कन्भिक्स’ गरिसकेको छु । परिवार पनि सहमति नै छन् ।
विवाह गर्न किन मन लागेन ?
सबैको आ–आफनो आफनो विचार र धारणा हुन्छ । मेरो पनि आफनो व्यक्तिगत इच्छा हो ।
पे्रम प्रस्ताव चाहिँ आउँछ कि आउँदैन ?
मैलै भनिहाले नि म सिंगल बस्न मन पराउने भएकाले पे्रम प्रस्ताव आउँदा पनि वास्ता गर्दिन । मेरो आफू योग्य भएर बाँच्ने योजना भएकोले म सिंगल नै रमाउँछु ।
उसो भए, तपाईँको विचारमा प्रेम के हो ?
जीवनको बाँच्ने आधार हो, जहाँ कोही आफूले आफैंलाई एक्लै प्रेम गर्छन् र खुशी हुन्छन् । कोही भने सम्बन्धलाई मात्रै पे्रम मान्छन् । तर म चाहिँ आफैंलाई पे्रम गर्ने मानिस हुँ । त्यसैले यसैमा रमाएकी छु ।














