
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको बताए । आकाशेपुलबाट बाटो काट्न आग्रह गर्दा कठायतले महिला प्रहरीसँग विवाद गर्दै आक्रमण गरेका थिए ।
ड्युटीमा खटिएकी महिला प्रहरीले आकाशे पुल नजिकै भएको भन्दै ‘जहाँ पायो त्यहिँबाट बाटो काट्दा दुर्घटना हुन्छ, आकाशे पुलबाट जानुस्’ भनेपछि युवकले एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।














