
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय महासचिव डा सुरेन्द्रकुमार झाले सांसदहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पुनः स्पष्टीकरण सोधेका हुन् ।
अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णयविपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पत्रमार्फत भनिएको छ ।
यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएको जसपाको ठहर छ ।















