Logo
Logo

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी


630
Shares

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।

यस साझेदारीअन्तर्गत, रु. २९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन्। त्यस्तै, ९९ देखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

मङ्गलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्ने हुन्छ। एपले योग्य ग्राहकहरूले प्राप्त गर्ने सुविधाको विवरण स्वतः देखाउनेछ । योग्य नदेखिएका ग्राहकहरूले यसका लागि आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन्।

यो सहकार्य कनेक्टिभिटीमा मात्र सीमित नभई विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकहरूसँगको साझेदारीमार्फत ग्राहकहरूलाई सान्दर्भिक र अर्थपूर्ण सुविधाहरू उपलब्ध गराउने एनसेलको निरन्तर प्रयासको एक अंश हो। यस्ता पहलहरूमार्फत एनसेलले आफ्ना ग्राहकका लागि दैनिक जीवनमा थप मूल्य सिर्जना गर्दै उनीहरूको हित तथा कल्याणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्