Logo
Logo

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, राप्रपाका बहुमत सांसद पक्षमा


0
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मंगलबार आयोजित प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन्।

उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन्। उनका अनुसार विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ।

थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६, नेकपा (एमाले)का २५ (उपसभामुखसहित) र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन्। राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले पक्षमा मतदान गरेका हुन्।

सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो। सरकारलाई समर्थन गर्ने निर्णय गरेका संसदीय दलका नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ।

उनीहरू चारै जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेशसभा सचिवालयमा पत्राचारसमेत गरेको थियो। राप्रपाका १२ जना सांसदमध्ये ७ जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहेका छन्।

राप्रपाका बाँकी ५ सदस्य भने बैठकमै उपस्थित भएनन्। यता, प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक बहिष्कार गरेको छ।

सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा रिट परेको थियो। उक्त रिटमाथि सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ।

साथै, अदालतले रिट निवेदक पक्ष र सरकार पक्षलाई भदौ १० गते छलफलका लागि बोलाएको छ। सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्