Logo
Logo
वाचडग

ओली-बालेन पात्र र प्रवृत्ति


0
Shares

दुईतिहाइका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुईपटक संसद् विघटन गरेपछि मैले पटकपटक लेखेको थिएँ– नेपाली राजनीतिले बाटो बिरायो । तै पनि प्रमुख राजनीतिक दलका नेताहरुको चेत खुलेन र त्यसपछि पनि उनीहरु भागबण्डाकै राजनीतिमा अल्मलिए । विगत ३५ वर्षदेखि आलोपालो कम्मल ओढेर घिउ खान पल्केका नेताहरु त्यतिबेला बिउझिए– जतिबेला जेनजी विद्रोहले देश खरानी बनाइसकेको थियो । अहिले त्यही खरानीको जगमा रास्वपा नेतृत्वको सरकार छ । पुराना दलबाट आजित भएका जनताले रास्वपालाई दुईतिहाइ मत दिएर सत्तामा पु¥याएका छन् । यो पनि कति समय टिक्ने हो यसै भन्न सकिने अवस्था छैन । सत्तामा पुगेको पाँच महिना बित्दा नबित्दै रास्वपाभित्र आन्तरिक विवाद चुलिएको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीचको मतभेद सार्वजनिक रुपमै छताछुल्ल हुन थालेको छ ।

जेनजी विद्रोहको जगमा उभिएको रास्वपा ०७२ सालको संविधान संशोधन गर्ने नाममा संविधानमा अपरिवर्तनीय भनिएका धाराहरुसमेत उखेल्न उद्यत भएका छन् । पपुलिज्मको भरमा सत्तामा पुगेको रास्वपा र बालेन साहको कुनै राजनीतिक दृष्टिकोण र दर्शन पनि छैन, छ त केवल देश बनाउने धङधङी । धङधङले देश बन्ने भए युक्रेन, ट्युनिसिया, इजिप्ट, यमन, लिविया, सिरिया, मेडागास्कर (अफ्रिका), बंगलादेश र श्रीलंकाजस्ता देशहरु अहिलेसम्म शान्ति र समृद्धितर्फ लम्किसक्थे । विगतमा विद्रोहबाट सत्ता पल्टिएका ती देशहरुको अवस्था हेर्दा पनि हामी गम्भीर हुनुपर्ने हो ।

पक्कै पनि देश नबन्नुको कारण संविधान होइन, हाम्रो चरित्र र व्यवहार हो । विगतमा नेताहरुले गरेको गल्ती कमजोरीलाई सच्याएर अगाडि बढ्नु बुद्धिमानी हुनेछ । तर, सरकारको पाँचमहिने यात्रा हेर्दा सरकार ठिक ढंगले अगाडि बढिरहेको छ भन्न सकिन्न । विगतमा पनि दुईतिहाइको सरकार नबनेको होइन, तर ती सरकार विफल हुनुको कारण पार्टी र सरकारबीचको अन्तद्र्वन्द्व र अहंकारी प्रवृत्ति नै प्रमुख कारण हो ।

त्यही अहंकारले केपी शर्मा ओलीले दुईतिहाइको सरकार भंग गरेर पार्टीलाई भुइँ न भाँडो बनाए । नेपाली जनताको आशा, भरोसा र भविष्य बोकेको नेकपालाई त्यतिबेला नेपाली जनताले विश्वास गरेरै दुईतिहाइको मत दिएका थिए । नेकपाका लागि देश बनाउने सुनौलो अवसर थियो । त्यो सरकारले राम्रो कामम गरेको भए यो स्थिति भोग्नुपर्ने थिएन । जुन दिन ओलीको दम्भ, अहंकारले दुईदुईपटक संसद् विघटन भयो, त्यही दिनदेखि बाटो बिराएको नेपाली राजनीति लरखराउँदै यहाँसम्म आइपुगेको छ । यो यथार्थलाई बालेनले बुझ्न सकेनन् भने दुईतिहाइको यात्रा बीचमै कहाँ गएर टुंगिन्छ भन्न सकिन्न । इतिहास भनेको वर्तमानको लागि सिक्ने पाठ पनि हो ।

किनभने, नेपालमा सरकार बन्नु र ढल्नुमा आन्तरिक कारण प्रमुख, बाह्य कारण सहायक बन्ने गरेको लुकेको छैन । बालेनले आन्तरिक कारणलाई पनि सम्बोधन गर्न सकेका छैनन् भने बाह्य कारणको नाडी छाम्न पनि सकेका छैनन् । बालेन सरकारप्रति हाम्रा दुई छिमेकी अझै पनि सशंकित देखिन्छ । बालेन प्रधानमन्त्री भएपछि नेपाल भूराजनीतिक जटिलतामा फस्न सक्ने प्रबल सम्भावना छ । उनको कालो चश्माले यो कुरा कत्तिको ठम्याउन सकेको छ, त्यो भने बुझ्न सकिएको छैन । राजकाज चलाउने भन्ने कुरा मेयर चलाएजस्तो सजिलो छैन । राजकाज चलाउन राजनीतिक र कूटनीतिक चातुर्य चाहिन्छ । यसमा चुक्यो भने मै हुँ भन्ने सरकार पनि कुन दिन भड्खालोमा जाकिन्छ भन्ने कुरा जाकिएपछि मात्रै थाहा हुन्छ ।

यो तीतो सत्य मैले त्यतिबेलाका प्रधानमन्त्री ओलीलाई पटकपटक सुसूचित गरेको थिएँ । तर उनले आफूलाई सच्याउने प्रयत्न गरेनन् र आफ्नै कारण हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । जबकि, यस्तै परिस्थिति आउला भनेर बालुवाटार निवासमा उनले बंकरसमेत बनाएका थिए । यसबाट उनको सत्ता, शक्ति र महत्वाकांक्षाको मनोविज्ञान बुझ्न सकिन्छ । ओलीको ठाउँमा अहिले बालेन छन्, बालेनका लागि ओलीको विगत र वर्तमान राम्रो पाठ बन्न सक्छ । मैले यो किन भनिरहेको छु भने ओली र बालेन पात्र फरक भए पनि प्रवृत्ति उस्तै उस्तै देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्