Logo
Logo

चीनमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइयो


0
Shares

एजेन्सी । पूर्वी चिनियाँ शहर हाङझाउको व्यस्त चोकमा ‘रोबोकप’ लाई ट्राफिक ड्युटीमा खटाइएको छ । ६ फिट २ इन्च अग्लो ९८ किलोग्रामको ‘टी–२’ रोबोट स्थानीय प्रविधि कम्पनी ‘सुपकन इन्फर्मेशन’ ले विकास गरेको हो ।

यो रोबोट ट्राफिक व्यवस्थापनसम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेशिनलाई सुम्पने उद्देश्यले सञ्चालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कम्पनीको ‘इन्टेलिजेन्ट अनम्यान्ड सिस्टम्स इनोभेशन सेन्टर’ का प्रमुख काओ हुईका अनुसार ‘रोबोकप’ ले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय–बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक सङ्केतको उल्लङ्घन गर्दै बाटो काट्ने पैदलयात्रीहरूको पहिचान गर्न क्यामेरा, राडार र आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ ।

यी रोबोटहरूले बाटो, पार्किङ र ट्राफिक नियमसम्बन्धी प्रश्नहरूको जवाफ दिनुका साथै आपत्कालीन सुविधामार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ ।

‘सुपकन’ ले गएको मे महिनादेखि हाङझाउमा १५ वटा रोबोट परिचालन गरेको छ । कम्पनीका अनुसार तिनले १ लाख ७० हजारभन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेटविना गाडी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा ४० प्रतिशतभन्दा धेरैले घटाउन मद्दत गरेका छन् ।

कम्पनीले पर्यटकीय क्षेत्र, विद्यालय क्षेत्र, व्यापारिक क्षेत्र, अत्यधिक ट्राफिक र प्रतिकूल मौसममा यी रोबोटको हजारौँ घण्टासम्म परीक्षण गरेको छ ।

क्यामेरा र राडारहरू अझै पनि चर्को घाम, वर्षा र अत्यधिक तापक्रमबाट प्रभावित हुन सक्छन्, यद्यपि ‘सुपकन’ का अनुसार नियम उल्लङ्घन पहिचान गर्ने यसको सटीकता ९५ प्रतिशतभन्दा धेरै छ ।

‘सुपकन’ का अनुसार चीनका ३ वटा प्रान्तका ८ वटा शहरमा झन्डै यस्ता ५० वटा रोबोट सञ्चालनमा छन् र कम्पनीले वर्षको अन्त्यसम्ममा यो सङ्ख्या २०० को हाराहारीमा पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्