Logo
Logo

चीनले भन्यो- नेपालका दुई नदीको दोभानमा ठुलो ताल बन्यो, ३ दिनभित्र फुट्न सक्छ


0
Shares

काठमाडौं । चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ ।

ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।

आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ ।

समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको तयारीका लागि बाढीको ‘सिमुलेशन’ र विश्लेषण भइरहेको जनाइएको छ ।

नेपाल–चीन सीमाको नेपाली भू–भागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाका (केरुङ)मा क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चामा उद्धार टोली परिचालन गरेका छन् ।

भौगोलिक कठिनाइ, निरन्तरको वर्षा र पुनः विपद् आउन सक्ने जोखिमका बीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर र राहत संस्थाहरूले विमान, उपकरण र राहत सामग्रीसहित उद्धार कार्यलाई तीव्र पारेका छन् । यता बुधबार बिहान भोटेकोशीमा एक्कासी आएको बाढीले नेपालको रसुवा, नुवाकोट लगायत विभिन्न जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्