
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारको कामलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने निर्णय गरेको हो ।
सचिवालय सदस्य लिमा अधिकारीले बैठकमा एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको जानकारी दिइन् । पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने रास्वपाको तयारी छ ।
उद्धार र तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना पार्टीले बनाएको छ । सर्वदलीय बैठकमा भएको सहमतिअनुसार प्रदेश र स्थानीय सरकारको समन्वयमा राहत वितरण गर्ने र त्यसमा रास्वपाले सरकारलाई नै सघाउने अधिकारीले स्पष्ट पारिन् ।
बेसहारा बनेका नागरिकलाई सरकार आफ्नो साथमा रहेको महसुस गराउने गरी काम गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।














