
तीजको चहलपहल बढेको छ । कलाकारहरूलाई तीज महोत्सव र तीज गीतको अडियो, भिडियो निकाल्न भ्याइ नभ्याई छ । कयौँ तीज गीतहरू त्यत्तिकै सेलाएर जान्छन् भने कयौँ गीतहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । खासगरी टिकटकले गीतहरूलाई सुपरहिट बनाउने गरेको छ । यतिखेर, गायिका मृनल मानन्धरले गाएको ‘भदौ रे महिना मन ठाउँमा छैन, तीजको रन्को रननन’ भन्ने गीतले सामाजिक सञ्जाल तातेको छ । करिब दुई दर्जन हाराहारीमा गीत गाइसकेकी उनै गायिका मृनल मानन्धरसँग रेजिना पाण्डेले गरेको कुराकानी :
तपाईँले गाउनुभएको तीज गीतलाई यस पटक धरैले मन पराउनु भयो नि ? के कारणले होला ?
हो, ‘भदौ रे महिना मन ठाउँमा छैन, तीजको रन्को रननन’ भन्ने गीतले अहिले सामाजिक सञ्जाल निकै तातेको छ । लाखौँ श्रोताले मन पराइदिनु भएको छ । यस गीतमा टिकटक र रिल बनाएर नाच्नेहरूको सङ्ख्या बढ्दै छ । सायद स्वर, संगीत, शब्द सबै कुराले तानेकाले धेरैले मन पराउनुभयो होला ।
म्युजिक भिडियोमा समेत आफैँ देखिदा कस्तो महसुस भयो ?
यो मेरो पहिलो अनुभव हो । यो अनुभव मिठो रह्यो । राम्रो पनि भयो । धरैले मन पराउनु भयो । रातो सारी, चोलोमा सबैले रुचाए ।
तीज गीतमा विकृति आएको आम जनगुनासो पनि सुनिन्छ नि ?
मान्छेको आ–आफ्नो सोच हो । जुन गीतमा विकृति आयो भनेर दर्शक, श्रोताहरू तातिनु हुन्छ, त्यही गीतलाई हिट बनाइदिनु हुन्छ । भ्युज बढाई दिनुहुन्छ र मेला महोत्सवमा त्यही गीत गाउन लगाएर नाच्नु हुन्छ । यसमा कसलाई के भन्ने ?
गाउन सजिलो कि अभिनय गर्न ?
दुवै गाह्रो काम हो । सहज दुवैमा छैन ।
तीज व्रत बस्नुहुन्छ ?
आज सम्म बसेको छैन । म नेवार हुँ । नेवार समुदायमा तीजको व्रत बस्ने खासै चलन छैन । धार्मिक आस्थाको रूपमा हेर्दा, मलाई तीज पर्व मन पर्छ ।
देशभित्र र देशबाहिर कार्यक्रममा कत्तिको जाने अवसर पाउनुभएको छ ?
यो अवसर फाट्टफुट्ट मात्र छ । देशका विभिन्न ठाउँमा पुगेको छु तर देश बाहिर नै जाने अवसर भने मिलेको छैन । निरन्तर कर्ममा लाग्छु । त्यो अवसर पनि आउला नि ।
गायिका कसरी बन्नुभयो ?
गायिका बन्ने बाल्यकालदेखिकै रहर थियो । मैले केही ब्यान्डसँग काम गरे । पहिले गोरखाली गल्र्समा आवद्ध भएर काम गरे भने त्यसपछि स्त्री ब्यान्डमा पनि ‘भोकलिष्ट’ भएर काम गरे । ब्यान्डमा आवद्ध भएर विभिन्न जिल्लामा कार्यक्रम गर्दै हिँडियो । त्यसरी नै मेरो साङ्गीतिक यात्रा सुरु भएको थियो ।
आजभोलि साङ्गीतिक ब्यान्डहरू त हराउँदै गए जस्तो छ नि होइन ?
ब्यान्ड चलाउनु सानो कुरा होइन । यसका लागि सबै सदस्यहरूको एकता हुनुपर्छ । आर्थिक पाटो झनै चुनौतीपूर्ण छ । अहिले ब्यान्डहरू भन्दा सामाजिक सञ्जालले दिएका एकल प्लेटफर्म नै सहज लाग्न थालेको छ । यसकारण ब्यान्डहरू हराउँदै गएका हुन् जस्तो लाग्छ ।
गायिका बन्न तपाईँलाई अवसरको ढोका चाहिँ कसरी खुल्यो ?
जब म नेपाल आइडलमा सहभागी भएँ । त्यसपछि मलाई धरैले चिने र अवसरहरू आए । सङ्गीतको राम्रो ज्ञान लिने मौका पनि पाएँ ।
नेपाल आइडलमा गए पछि आफूमा के परिवर्तन पाउनुभयो ?
धेरै परिवर्तन भयो । म र मेरो संगीत दुवैमा आत्मविश्वास बढ्यो । अग्रजहरुबाट धेरै कुरा सक्न पाएँ । न्हयू बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले सङ्गीतको बारेमा धेरै कुराहरू सिक्ने अवसर दिनु भयो ।
साङ्गीतिक क्षेत्रबाट तपाईँको आम्दानी कस्तो छ ?
अवसर भर्खर आउन थालेका छन् । बिस्तारै होला नि । अहिलेलाई मेरो लागी पकेट मनि मात्र निस्केको छ ।
आजभोलि धेरै युवाहरूमा गायन प्रति आकर्षण बढेको देखिन्छ, किन होला ?
हो, सायद समयको माग हो । मलाई पनि यस्तै लाग्छ । यो क्षेत्रमा म जस्ता धेरै नयाँ नयाँ अनुहार आइरहेका छन् । यो राम्रो कुरा हो । कोही रहरले आइरहेका छन् भने कोही ‘करिअर’ सोचेरै पनि आइरहेका छन् ।
संगीत तपाईँको चाहिँ रहर कि ‘करिअर’ ?
पहिले रहर थियो अब संगीतमै करिअर खोजिरहेको छु ।














