Logo
Logo

सत्तापक्षको प्रचारमा एआईको पुल, गृहमन्त्रीदेखि सांसदसम्म फसे !


0
Shares

नुवाकोटको तादी खोलामा ‘एक्रो ब्रिज’ निर्माणको काम सम्पन्न भइसकेको दाबीसहित सामाजिक सञ्जालमा भाइरल बनेको फोटो एआईको प्रयोग गरी बनाइएको पुष्टि भएको छ । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि क्षतिग्रस्त बनेको संरचना सरकारले द्रुत गतिमा पुनर्निर्माण गरेको देखाउने उद्देश्यले उक्त नक्कली फोटो व्यापक रूपमा शेयर गरिएको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त फोटो गृहमन्त्री सुधन गुरुङदेखि सत्तारुढ दल रास्वपाका सांसद राजीव खत्रीले समेत प्रयोग गरेका छन् । यद्यपि, उक्त फेक फोटोको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि उनीहरू दुवै जनाले आफ्नो पोस्ट इडिट गरी फोटो रिप्लेस गरेका छन् । त्यसैगरी, रास्वपा समर्थक तथा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तका साथै केही सञ्चारमाध्यमले समेत उक्त फेक फोटो प्रयोग गरेका छन् ।

भर्चुअल दुनियाँमा एआईको पुल बनाएर वाहवाही लुट्ने होडबाजी चलिरहँदा, वास्तविक धरातलको दृश्य भने बिल्कुलै फरक छ । विदुर नगरपालिका वडा नम्बर ५, देवीघाटस्थित तादी नदीमा अहिले नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना जवान अहोरात्र खटिएर एक्रो ब्रिज जडानको काम निरन्तर गरिरहेका छन् । नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईंको नेतृत्वमा उक्त काम भइरहेको छ । विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेका अनुसार उक्त पुल निर्माण सम्पन्न हुन अझै केही दिन लाग्नेछ ।

त्यस्तै, नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले समेत भाइरल फोटो भ्रामक रहेको र निर्माण कार्य अझै जारी रहेको स्पष्ट पारेका छन् । बाढीले बगाएको पुल केही दिनमै बनाउनु ठूलो कुरो हो, तर पुल नबनी बनेको देखाउनु ठूलो उपलब्धि होइन । नागरिकलाई वास्तविक प्रगति चाहिएको हो, एआईले सजाएको उपलब्धिको तस्बिर होइन । किनकि एआईले पुलको फोटो बनाउन सक्छ, तर नदीमाथि पुल बनाउन सक्दैन । फोटोमा विकास देखाउन सकिन्छ, तर त्यसले जनताको बाटो खोल्दैन । 

यो सामान्य भूल वा एउटा भ्रामक फोटोको प्रसार मात्र पटक्कै होइन, राज्यको चरम गैरजिम्मेवारीपन, सस्तो लोकप्रियताको भोक र प्रविधिको दुरुपयोग गरी आम नागरिकको आँखामा छारो हाल्ने भयानक राजनीतिक प्रवृत्तिको हो । जिम्मेवार पदमा बसेका व्यक्तिहरूले कुनै पनि सूचनाको पुष्टि नै नगरी शेयर गर्नु र पछि आलोचना खेप्नुपरेपछि सुटुक्क फोटो फेर्नु वा हटाउनुले उनीहरूको हतारो र सस्तो ताली खाने अपरिपक्व मानसिकतालाई उदाङ्गो पारेको छ । यसका साथै, समाजलाई सत्यतथ्य पस्कने जिम्मा लिएका मुख्यधाराका केही सञ्चारमाध्यमले समेत न्यूनतम तथ्य जाँच नगरी यही फर्जी फोटोका आधारमा समाचार सम्प्रेषण गर्नुले नेपाली पत्रकारिताको सतहीपनलाई समेत छताछुल्ल पारेको छ ।

यो सिङ्गो प्रकरणले नेपाली समाजमा एआई प्रविधिको गलत प्रयोग कसरी दुष्प्रचार र झुटको खेती गर्ने हतियार बनेको छ भन्ने फेरि पुष्टि गरेको छ । मैदानमा घामपानी नभनी खटिएका प्राविधिक र सैनिक जवानहरूको वास्तविक पसिना र मेहनतको कदर गर्नुको सट्टा, वातानुकूलित कोठामा बसेर भर्चुअल दुनियाँको काल्पनिक चित्रबाट सस्तो प्रशंसा बटुल्ने बाटो रोज्नु उत्तरदायी शासन प्रणालीका लागि अत्यन्तै घातक छ । विशिष्ट पदमा बसेका व्यक्तिहरूले सामाजिक सञ्जालमा सूचना प्रवाह गर्दा न्यूनतम जिम्मेवारीबोध र चेत राख्न नसक्नु लज्जाको विषय हो । नक्कली एआई पुलले भर्चुअल स्क्रिनमा गाडी गुडाएर क्षणिक ताली त पाइएला, तर वास्तविक नागरिकले जोखिम मोलेर नदी तर्न अझै वास्तविक पुलकै पर्खाइ गर्नुपर्छ भन्ने निर्मम सत्यलाई कसैको पनि फर्जी पोस्टले ढाकछोप गर्न सक्दैन । 

भिडियो :

प्रतिक्रिया दिनुहोस्