काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार ‘जेनजी आन्दोलन’को वास्तविक भावना अनुसार नभई, त्यसलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको बताएका छन् ।

जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा एक वक्तव्य जारी गर्दै पोखरेलले यस्तो बताएका हुन् । उक्त दुःखद घटनाको एक वर्ष पुगेको अवसरमा उनले ज्यान गुमाउने नवयुवाहरूप्रति श्रद्धाञ्जली र घाइते तथा पीडित परिवारप्रति पोखरेलले समवेदना प्रकट गरेका छन् ।
महासचिव पोखरेलले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सुलभ सेवा प्रवाह र सामाजिक सञ्जालको निर्बाध प्रयोगजस्ता मागहरू अत्यन्तै जायज र साझा सरोकारका विषय भएको बताएका छन् । सामाजिक सञ्जालको सन्दर्भमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनका लागि दर्ताको नीति अघि सारे पनि त्यसलाई स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आएको उनको भनाइ रहेको छ ।
शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउन ठुलो षड्यन्त्र भएको पोखरेलको दाबी छ । उनले भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै ‘जेनजी आन्दोलन’को वास्तविक भावनाको सम्मान गर्नु हो ।’
महासचिव पोखरेलले नेकपा (एमाले) सधैँ नवयुवाहरूको पक्षमा रहेको र आगामी दिनमा पनि रहने बताएका छन् । विगतमा युवाहरूको भावना र माग सम्बोधन गर्ने क्रममा केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
देशमा सुशासनको प्रत्याभूति दिनु र विधिको शासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको भन्दै उनले एमाले नवयुवाका जायज मागहरू सम्बोधन गर्न सधैँ तत्पर रहेको बताए ।















