Logo
Logo

मध्यराति अस्पतालले निकाल्यो, बबिताले फुटपाथमै जन्माइन् बच्चा


315
Shares

काठमाडौं । सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिलालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले उपचार गर्नुको साटो गेटबाहिर निकालिदिएको खुलासा भएको छ ।

प्रसवपीडाले छटपटाउँदै अस्पताल पुगेकी सप्तरीको राजविराज नगरपालिका–१४ पर्साहीकी २९ वर्षीया बबिताकुमारी पासवानलाई अस्पतालले बाहिर निकालेको हो । यो घटना बुधबार रातिको हो । राति २ बजेतिर प्रसवपीडा सुरु भएपछि बबिता श्रीमान् हरेराम र गाउँकै एक महिलासहित आशा बोकेर अस्पताल पुगेका थिए ।

अस्पताल पुगेपछि चिकित्सकले भिडियो एक्स–रेसहित केही परीक्षण गर्न २५ सय रुपैयाँ लाग्ने बताए । तर, मध्यराति विपन्न पासवान परिवारसँग तत्काल त्यो रकम थिएन । ‘पैसा भोलि बिहानै तिर्छौँ, अहिल्यै उपचार सुरु गरिदिनुन’ भन्दै हारगुहार गर्दा पनि अस्पताल प्रशासनले उनीहरूको याचना सुनेन । उल्टै अस्पतालका कर्मचारीले व्यथाले छटपटाइरहेकी बबितालाई अस्पताल परिसरबाटै बाहिर निकालिदिएको पीडित पक्षको दाबी छ ।

श्रीमान् हरेराम रकम जोहो गर्न बाहिर भौँतारिइरहेका बेला बिहान करिब ४ बजे बबिताले अस्पतालको गेटबाहिरै बच्चा जन्माउन बाध्य भइन् । दलित तथा विपन्न समुदायकी बबिताले अस्पताल बाहिर बच्चा जन्माएको घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफूले पनि भिडियो हेरेपछि घटनाबारे थाहा पाएको र थप बुझ्ने काम भइरहेको बताएका छन् ।

प्रसवजस्तो संवेदनशील अवस्थामा पैसा अभावकै कारण अस्पतालले उपचारबाट वञ्चित गरी बाहिर निकाल्नुले स्वास्थ्य सेवामा नागरिकको पहुँच, विपन्न तथा दलित समुदायप्रतिको दृष्टिकोण र सरकारी अस्पतालको लापरबाहीपूर्ण सेवा प्रणालीलाई उदाङ्गो पारिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्