Logo
Logo

रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३७७ पुग्यो, अझै ५ हजार बढी बेपत्ता


0
Shares

काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३७७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार आज बिहान ११ बजेसम्म १ हजार ३७७ जनाको शव भेटिएको हो ।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी, बाढीपछि ५,१३० जना अझै बेपत्ता रहेका छन् । हालसम्म १०४ वटा शव सनाखत भएका छन् ।

विपद्पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना डिस्चार्ज भइसकेका छन् । उद्धारतर्फ हालसम्म १३,६५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ । उद्धार गरिएकाहरूका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल ती होल्डिङ सेन्टरहरूमा नुवाकोटका २,६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन् ।

नेपाली सेनाका १,३४८ र सशस्त्र प्रहरी बलका २७२ वटा हवाई उडानमार्फत प्रभावित क्षेत्रमा उद्धार र राहत सामग्री ओसारपसार गरिएको छ । स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३,५५९ र सशस्त्र प्रहरीबाट ३,६०६ जनालाई सेवा प्रदान गरिएको छ ।

खोज, उद्धार र सुरक्षाका लागि कुल २१,०६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८,८८५, नेपाल प्रहरीका७,९७५ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन् । नेपाल सरकारबाट रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपियाँ नगद राहत उपलब्ध गराइएको छ । प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपियाँ राहत रकम पठाइएको छ । सरकारले सडक तथा हवाईमार्गमार्फत खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा निरन्तर पठाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्