
काठमाडौं । नेकपा एमालेले पुनर्गठन कार्यदलको बैठक बोलाएको छ । बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बनस्ेगरी बोलाइएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको कार्यदलका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।
गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् ।
सात प्रदेश र अरु गैरभौगोलिक गरी १३ स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो । महासचिव पोखरेलले प्रतिवेदनको मस्यौदा झण्डै एक महिना पहिले नै तयार पारेका थिए ।
कार्यदलका संयोजक थापालाई बुझाइएको प्रतिवेदन सार्वजनिक नै भइसकेको छ । भोलि बस्ने कार्यदलको बैठकमा उक्त प्रतिवेदनमै छलफल हुने बताइएको छ ।















