Logo
Logo

गृहमन्त्री सुधन गुरुङको दम्भले रास्वपामा भूकम्प ! (भिडियोसहित)


0
Shares

काठमाडौं । जेनजी आन्दोलनको जगमा सत्ताको सिँढी चढेकाहरूले जब जनता र आन्दोलनका मर्मलाई नै कुल्चिन थाल्छन्, तब परिवर्तनको नारा बिस्तारै निरंकुशताको मुखुण्डोमा परिणत हुन्छ । गृहमन्त्री सुधन गुरुङको पछिल्लो हर्कतले यही तीतो यथार्थलाई फेरि एकपटक उदाङ्गो पारेको छ । जसको शैलीबाट स्वयं रास्वपा नेताहरू दिक्दार देखिएका छन् । जेन–जी विद्रोह भएको एक वर्ष पुगेको अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले भदौ २३ गते राखेको कार्यक्रममा प्रमुख अतिथि रहेका गृहमन्त्री गुरुङको शैलीप्रति रास्वपाकै नेताहरुले प्रश्न उठाएका छन् । विवादित धर्मगुरुहरूलाई मञ्चमा राखेर गृहमन्त्री गुरुङले अन्य दल र पत्रकार समेतलाई दुत्कारेका थिए ।

विगतमा पटक–पटक हिरासतमा परेका र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका पात्रहरूलाई ‘धर्मगुरु’को नाममा मञ्चमा स–सम्मान राखेको विषयले सांसदहरूलाई थप आक्रोशित बनाएको छ । अरु सांसद र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई उनीहरूको पछाडि राखिएको र विवादास्पद पृष्ठभूमिका व्यक्तिहरूलाई गृहमन्त्रीले मञ्चमा प्राथमिकता दिएको विषयमा रास्वपा सांसदहरूले कडा आपत्ति जनाएका छन् ।

पार्टी सभापति रवि लामिछानेले आफ्नै पार्टीका नेता–कार्यकर्तालाई बारम्बार अहंकारबाट जोगिन, पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्न र विगतको आलोचनामै अल्झिनुभन्दा भविष्यको योजना प्रस्तुत गर्न आग्रह गर्दै आएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा समेत लामिछानेले अनुभवी पुस्तालाई पर्याप्त सम्मान दिन नसकिएको महसुस भइरहेको बताएका थिए ।

पुरानो पुस्ताको अनुभव रास्वपालाई आवश्यक रहेको सभापति लामिछानेले भनिरहँदा गृहमन्त्री गुरुङले अरूबाट नसिक्ने उद्घोष गरे । उनले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरे ।

नीति, संगठन र नेतृत्व कार्यशालाअन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने क्रममा सभापतिले राखेका दृष्टिकोणहरू पनि गृहमन्त्री गुरुङले मनन गरेनन् । विगतलाई कोट्याउन छोडेर भविष्यको योजना ल्याउन सभापति लामिछानेले आग्रह गरेका थिए ।

दलहरूप्रति धम्कीपूर्ण अभिव्यक्ति दिएका गृहमन्त्री गुरुङले पत्रकारलाई समेत चेतावनी दिएका थिए । गृहमन्त्री गुरुङले पत्रकारलक्षित टिप्पणी गरिरहँदा कार्यक्रममा रहेका उनका समर्थकले ‘हो–हो’ भन्दै समर्थन जनाएका थिए ।

गृहमन्त्री गुरुङको उक्त शैलीले रास्वपा पार्टीपंक्ति तरंगित भएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्यहरू गुरुङको व्यवहारबाट असन्तुष्ट देखिएका छन् । महामन्त्री विपिन आचार्यले गृहमन्त्री गुरुङको नाम नलिई उनीलक्षित टिप्पणी सामाजिक सञ्जालमा गरेका छन् । महामन्त्री आचार्यले लेखेका छन्, ‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’

यस्तै, गृहमन्त्री गुरुङको शैली र कार्यक्रम परिसरको परिदृश्यलाई लिएर रास्वपा संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले कर्कश र बिझाउने टिप्पणी गरेका छन् । संगठन विभाग प्रमुख न्यौपानेले लेखेका छन्, ‘श्रव्य– कर्कस । दृश्य– बिझाउने । “बदल्छौं” भन्नेहरू नै बदलिँदै त छैनौँ ?’

त्यस्तै, पत्रकारलक्षित गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपा केन्द्रीय सदस्य एवं सचेतक क्रान्तिशिखा धितालले आफ्नो दलको पुरानो प्रतिबद्धता स्मरण गराइन् । उनले लेखिन्, ‘पोहोर साल हामी नै हैन र प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएका ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ । सत्तालाई विनम्र हुन भनेका थियौँ, अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ ?’

तर, यो असन्तुष्टि केवल सार्वजनिक टिप्पणीमा मात्र सीमित रहेन । ह्वाट्सएपको एक ग्रुपमा गृहमन्त्री गुरुङले धितालको स्टाटसप्रति कडा आपत्ति जनाउँदै प्रतिप्रश्न गरेका थिए । जहाँ धिताललाई गुरुङले ‘जेन–जी आन्दोलनको फल खान आएको’ आरोप लगाउँदै ‘मलाई तमिज सिकाउन पर्दैन’ भनेर जवाफ फर्काएका थिए ।

यता, रास्वपाकै अर्का सांसद अमरेशकुमार सिंहले पनि गृहमन्त्री गुरुङको शैलीमाथि प्रश्न उठाएका छन् । उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्– ‘विवादित धर्मगुरुहरूलाई जेन–जी सहिदको मञ्चमा अगाडि राखेर र मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान र समावेशिताको धज्जी उडाउने तथा देशका लागि सही काम गर्नेहरूलाई पाखा लगाउने यो सरकारले के सन्देश दिन खोजेको छ ? आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन ।’

नयाँ बानेश्वरस्थित बीआइसीसी परिसरमा भएको कार्यक्रमका दृश्यहरू बिझाउने खालका थिए । गृहमन्त्री गुरुङले दम्भसहितको भाषण गरिरहँदा जेन–जी आन्दोलनका सहिद परिवार, जेलमा रहेका जेन–जी, घाइते र उनीहरूका परिवारका सदस्यहरू सरकारसँग आक्रोशित बनेका थिए । गृहमन्त्री गुरुङको कार्यक्षमतामाथि प्रश्न उठाउने जेन–जी घाइते पवन खड्कालाई कार्यक्रम परिसरबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

जेन–जी आन्दोलनको पहिलो वार्षिकीमा गृहमन्त्री गुरुङले सरकार र आफ्नो बखान गरे पनि त्यसलाई जेन–जीका परिवारले पत्याएनन् । जेलमा रहेका जेन–जी, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रममै विरोध जनाएका थिए ।

गृहमन्त्री गुरुङको शैलीलाई लिएर यसअघि पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा सहमतिपछि उनका बुबा–आमाप्रति गरिएको व्यवहारलाई लिएर संसदमै प्रश्न उठाइएको थियो । गरिमाको हत्याको विरोधमा बारा र काठमाडौंमा विरोध प्रदर्शन भएको थियो । गृहमन्त्री गुरुङको उपस्थितिमा ७ भदौमा गृह मन्त्रालयमा पीडितका बुबा–आमासँग सहमति भएको थियो । तर, सहमतिपछि पीडितको जबरजस्ती भिडियो खिचाइएको भन्दै गृहमन्त्रीको आलोचना भएको थियो । सहमतिको एक दिनपछि भदौ ८ गते महामन्त्री विपिन आचार्यले संसदमा उक्त प्रसंग निकाल्दै कडा आपत्ति जनाएका थिए ।

पार्टीभित्रै तीव्र आलोचना र आक्रोशको सिकार बन्न थालेपछि गृहमन्त्रीले सांसदहरूलाई नै चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै सांसदहरूले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

रास्वपाले पुरानो राजनीतिक संस्कार बदल्ने दाबीका साथ राजनीति सुरु गरेको थियो । तर, अहिले आफ्नै नेताहरूले ‘अहंकार’, ‘कर्कश आवाज’, ‘बिझाउने दृश्य’ र ‘धम्कीको भाषा’ प्रयोग भएको भन्दै प्रश्न उठाउन थालेका छन् । अब प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेले निर्णय गर्नुपर्ने मुख्य प्रश्न यही हो– गृहमन्त्रीको शैलीलाई व्यक्तिगत अभिव्यक्ति भनेर टार्ने कि यसलाई पार्टीले बोकेको राजनीतिक संस्कारसँग जोडेर गम्भीर समीक्षा गर्ने ?

जेन–जी आन्दोलनले पुरानो सत्ता ढालेको हुन सक्छ, तर नयाँ सत्ता पनि उही अहंकार, उही दम्भ र उही चेतावनीको भाषामा बोल्न थालेपछि फेरि प्रश्न उठेको छ– ‘बदल्न सडकमा उत्रिएको पुस्ता, अन्ततः आफैँ किन बदलियो ?’ र, त्यो प्रश्नको जवाफ गृहमन्त्री सुधन गुरुङले मात्रै होइन, सिंगो रास्वपा नेतृत्वले दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्