Logo
Logo

बाढीपीडितको छिटो उद्धार गर्न माग गर्दा बलात्कार र ज्यान मार्ने धम्की आयो : सांसद बराल


252
Shares

काठमाडौं । नेकपा (एमाले) कि सांसद एशुदा कुमारी बरालले सत्तारुढ दल रास्वपाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रसुवाका बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको बताइन् । महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।

बाढीपीडित महिला, सुत्केरी र अन्य पीडितले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने उनले बताइन् । सडकमै महिला सुत्केरी हुनुपर्ने र ग्यास नपाएकै कारण खोलामा हाम फाल्नुपर्ने अवस्था रहेको भन्दै सरकारको नीति यस्तै हो भनी उनले प्रश्न गरिन् ।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, म कसरी सम्मान गरौँ? सडकमा महिला सुत्केरी हुनु, सुत्केरी महिलाले खाना नपाएर हाम फाल्नु, शरीरमा आगो लगाउनु सरकारको नीति हो र ?’

आफूले भोगेको साइबर बुलिङबारे प्रस्ट पार्दै उनले थपिन्, ‘सम्माननीय सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, साइबर बुलिङ किन यस्तो समयमा? अरुको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने म्यासेज हजारौँ छन् ।’

उद्धारको माग गर्दा धम्की आएको औंल्याउँदै उनले भनिन्, ‘सरकार उद्धार छिटो हुनुपर्छ भनेकै कारण साइबर बुलिङको सिकार हुनुपर्ने? महिलामाथि गाली गलौज गर्नेलाई कारबाही गर सरकार, हैन भने हिजो तिमीहरुले नै सिकाएको कुराहरु हो, आज अन्त्य गर्नुपर्छ् । घण्टीको फोटो राखेर गाली गलौज गर्ने कार्य भइरहेको छ, सरकारको ध्यानाकर्षण होस् ।’

सांसद बरालले सामाजिक सञ्जालमा ‘घण्टी’ को फोटो राखेर गालीगलौज गर्ने गतिविधि भइरहेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्