Logo
Logo

देउवा समूहले भन्यो- असोज ३ देखिको महाधिवेशनमा भाग लिदैनौँ


630
Shares

काठमाडौं । नेपाली कांग्रेस चुनदेवी समूहले असोज ३ गतेदेखि हुन लागेको महाधिवेशन प्रक्रियामा सहभागी नहुने जनाएको छ । चुनदेवीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

समूहका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलनमा धारणा राख्दै असोज ३ गतेदेखिको महाधिवेशनमा भाग नलिने र उनले मंसिरमा आफूहरुले गर्न लागेको महाधिवेशनमा भाग लिन पनि अपिल गरे ।
यस्तो थियो उनले पत्रकार सम्मेलनमा राखेका धारणा–

भाद्र २९, २०८३

प्रा.डा.शशांक कोइरालाज्यूद्वारा जारी प्रेस विज्ञप्ति

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो ।

पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं । पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।

हामीले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आग्रह गरेका थियौं । पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न ।

निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन ।

कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिन्छ । त्यसैले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता हो ।

यस अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपिल गर्दछौं । आश्विन ३ गतेवाट विधि प्रकृया मिचि शुरु गर्ने भनिएको तथाकथित अधिवेशन÷महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं । १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित छ । विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा हामीले स्थापित गर्न सक्छौं ।

जय नेपाल !

प्रतिक्रिया दिनुहोस्