Logo
Logo

माधव नेपालले भने– विपद्बारे प्रधानमन्त्रीले राष्ट्रिय धारणा बनाउनुपर्छ


63
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विपद्को विषयमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दल तथा विज्ञहरूसँग संवाद गरेर राष्ट्रिय धारणा बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहसंयोजक नेपालले विपद् व्यवस्थापनजस्तो राष्ट्रिय विषयमा प्रधानमन्त्रीले अन्तरपार्टी संवादलाई प्राथमिकता दिनुपर्ने बताए ।

व्यस्तताका बीच पनि प्रधानमन्त्रीले विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो विपद्का विषयमा सरकार केही पछि परेको जस्तो देखिएको टिप्पणी उनले गरे ।

सम्भव भएसम्म एक साताभित्र संसदीय विशेष समिति गठन गर्नुपर्ने भन्दै उनले उक्त समितिले जलवायु परिवर्तन र पछिल्ला विपद्का घटनाबारे गम्भीर छलफल, सरकारका कामको अनुगमन तथा आवश्यक सुझाव दिनुपर्ने बताए ।

राहत र पुनस्र्थापनाको काममा समेत सरकारको थप सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘हालको विपद्मा अझै उद्धार तथा खोजी, राहत वितरण, उपचार, पुनस्र्थापना र पीडितको यथार्थ तथ्याङ्क सङ्कलनमा सरकारको विशेष ध्यान जान आवश्यक छ । राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्