
भारत मण्डपको बीच भागमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अनि दायाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बाँयाँ चीनका राष्ट्रपति सी चिनफिङ । तीन नेताबीच भारतमण्डपमा हातेमालो र सामूहिक मुस्कानसहितको यो दृश्यले विश्वलाई नयाँ दिल्लीबाट महत्वपूर्ण सन्देश दिएको छ । ब्रिक्सको १८औं शिखर सम्मेलनको अभूतपूर्व सफलतालाई मोदीको विश्व मञ्चमा बलियो उचाई र घरेलु राजनीतिमा थप प्रभावका रुपमा लिनुपर्छ । भारतले मोदीको शासनकालमा आर्थिक, सैन्य र प्राविधिक क्षेत्रमा जुन प्रगति हासिल गरेको छ, त्यो विश्व व्यवस्थालाई नयाँ अवस्थामा पु¥याउने सामथ्र्यको बनिसकेको छ । यसकारण ब्रिक्सको उदघाटनमा मोदीले ग्लोबल साउथ भनिने विकासशील देशहरुको सशक्त संगठन देखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा समेत सुधारको एजेन्डा उठाएका थिए ।
२७ भाद्रमा नयाँ दिल्लीमा ब्रिक्स नेताहरु रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङलगायत नेताहरु उपस्थित ब्रिक्स सम्मेलन उदघाटन गर्दै मोदीले भने, ‘संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको सुधारलाई अझै आलटाल गर्न हुँदैन ।’ राष्ट्रसंघको सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको दाबेदारीलाई ब्रिक्सको मञ्चबाट मोदीले उठान गर्नुलाई अर्थपूर्ण मान्नुपर्छ ।
मोदीले आर्थिक संस्थाहरुमा पनि सुधारमा जोड दिए । उनको संकेत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत संस्थाको प्रभाव र निर्णयाधिकारको विषयतर्फ थियो । मोदीले भने, ‘भोटिङ पावर, लिडरसिप पोजिशन र पोलिसी प्राइओरिटी वर्तमानको आर्थिक यथार्थ अनुसार हुनुपर्छ । जो आर्थिक वृद्धिलाई गति दिन्छन् उनीहरुलाई नै उचित भूमिका दिनुपर्छ ।’ भारतले पछिल्लो दुई दशकमा आर्थिक र सैन्य क्षेत्रमा ठूलो फड्को मारेको छ । उसले यसकारण पनि विश्व मञ्चमा आफ्नो प्रभावकारी उपस्थितिलाई सार्थक बनाउन खोजिरहेछ ।
मोदीले ग्लोबल साउथ भनिएका विकासशील देशहरु नीतिनिर्माणको पछिल्तिर रहेकाले वैश्विक शासन प्रणालीको रुपान्तरणको प्रस्ताव राखे । उनले विकासशील देशहरु पनि नीतिनिर्माणमा अति विकसित भनिएका ग्लोबल नर्थ देशहरुको साथ साथमा हुनुपर्नेमा जोड दिए ।
ग्लोबल साउथमा एशियाका जापान, दक्षिण कोरिया र इजरायलबाहेकका भारत, चीनलगायत देशहरु छन् । अफ्रिका र ल्याटिन अमेरिकाका सबै देश पर्दछन् । उत्तर अमेरिकाका संयुक्त राज्य अमेरिका र क्यानडाबाहेक सबै देश पर्दछन् । ओसेनियाका अष्ट्रेलिया र न्युजिल्यान्डबाहेक सबै पर्दछन् ।
युरोपका सबै देशहरु ग्लोबल साउथबाहेकका मािनन्छन् । मोदीले महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरुमा विकसित केही देशहरुको एकछत्र प्रभाव रहेकाले सुधारको प्रस्ताव गरेका हुन् ।
परिवर्तित विश्वको तस्बिर
दोस्रो विश्वयुद्धपछि युरोपको प्रभाव केही कम भएपनि प्रभुत्व घटेन । अमेरिकाले प्रभाव बढाउँदै लग्यो । शीतयुद्धमा सोभियत संघको पतनले अमेरिकालाई विश्वको एकमात्र महाशक्ति बनायो । त्यसको तीन दशकसम्म अमेरिकाले विश्व राजनीतिमा प्रभुत्व बनाइरह्यो । उसको साथमा बेलायत, फ्रान्स, जर्मनी, इटाली जस्ता नाटो देशहरु रहे । इजरायल, साउदी अरब जस्ता देशहरु अमेरिकासँग नजिक रहे । एशियाका जापान र दक्षिण कोरियामा अमेरिकी प्रभाव रह्यो ।
सेनाको हालीमुहाली भएको पाकिस्तानको राजनीतिमा अमेरिकी प्रभाव छँदैछ । यसबीच रुसमा पुटिनको शासन अनि चीनमा सी चिनफिङको उदयले विश्व राजनीतिलाई नै परिवर्तनको दिशातर्फ लग्यो ।
भारतमा मोदीको उदयले नयाँ परिस्थितिहरु निर्माण हुँदै गए । रुसले खस्किएको अर्थतन्त्रलाई सुधार गर्दै लग्यो । उसको सैन्य शक्ति बलियो हुँदै गयो । चीनले जापानलाई उछिनेर विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिमा आफूलाई उभ्यायो । अर्थतन्त्र र प्रविधिमा अमेरिकासँग प्रतिष्पर्धी बन्न थाल्यो । भारतले मोदी युगमा दशौं धनीबाट फड्को मारेर जापानलाई समेत उछिनेर चौंथो स्थानमा उभ्यायो अब चाँडै जर्मनीलाई उछिनेर तेस्रो धनी देश बन्दैछ ।
सैन्य र प्रविधिका क्षेत्रमा भारतले अभूतपूर्व फड्को मारेर चन्द्रमासम्म यानको सफल अवतरण गर्न सक्यो । यी सबै घटनाहरु विश्व शक्ति र विश्व व्यवस्थाको परिवर्तित अवस्था हो । जसलाई मोदीले ब्रिक्स सम्मेलनको उद्घाटन भाषणबाट अझ प्रष्ट पारेर विश्वलाई सन्देश दिए ।
विश्वको वर्तमान अनि भविष्य
युक्रेन युद्ध साँढे चार वर्ष पूरा भएको छ, इरान युद्ध टरेको छैन, चीनमाथि पश्चिमा दबाब बढ्दै जाँदा भारतमाथि पनि दबाब अस्वाभाविक लाग्दैछ । सँसारमा प्रविधि र व्यापारका युद्धहरु फैलिइरहेको छ । यो अवस्थामा भारतको स्थान पृथक छ । भारतको राजनीतिक प्रणाली पश्चिमाहरुसँग मिल्दोजुल्दो छ । तर, उसको सैन्य सम्बन्ध रुससँग नजिक छ । चीनसँग प्रतिष्पर्धात्मक सम्बन्ध छ ।
भारतले एकातर्फ अमेरिका र पश्चिम युरोपका देशहरुसँग रणनीतिक साझेदारी कायमै राखेको छ । अर्कातर्फ रुस र चीनसँग सम्बन्ध सुदृढ बनाउँदै लगेको छ । मोदी र सीले भारत र चीन प्रतिष्पर्धी नभई साझेदार रहेको सन्देश दिए ब्रिक्स सम्मेलनका दौरान । दुई देशबीच सम्बन्ध निकै सुध्रिएको छ अहिले ।
भारतले अमेरिकी दबाबको सामनाको सामथ्र्य बढाएको देखिदैछ । ८ दशकअघि बेलायतको उपनिवेशबाट मुक्त भएको भारत बेलायतभन्दा बलियो भइसकेको छ । युरोप पुगेर भारतका विदेशमन्त्री एस.जयशंकरले पश्चिमा देशहरु झस्कने अभिव्यक्ति दिएका थिए । फिनल्यान्डमा आयोजित कार्यक्रममा भारतको कुनै हतियार पश्चिमा देशहरुविरुद्ध प्रयोग नभएको भन्दै पाकिस्तानले युरोपबाट पाएको हतियार भारतविरुद्ध प्रयोग भएकोतर्फ लक्षित गर्दै युरोपेली हतियार भारतविरुद्ध प्रयोग भएको भनेका थिए ।
अमेरिकासहित पश्चिमा देशहरुले रुससँग तेल नकिन्न दबाब दिंदा भारतले अस्वीकार गरेको थियो । रुससँग दूरी बढाउन पश्चिमा देशहरुले दिएको दबाबलाई भारतले इन्कार गरिसकेको छ । बरु उसले रुससँग मिलेर अत्याधुनिक हतियार, युद्धक विमान निर्माण गरिरहेको छ । अन्तरीक्षमा संयुक्त रुपमा यात्री पठाउने पहलहरु भइरहेका छन् ।
रुस युक्रेन युद्धका कारण पश्चिम युरोपका देशहरुसँग द्वन्द्व गरिरहेछ । उसको अमेरिकासँग द्वन्द्वसँगै अप्रत्यक्ष रणनीतिक साझेदारीहरु छ । अन्तरीक्षमा दुवै देश मिलेर काम गरिरहेछन् । चीनलाई अमेरिका र बेलायतले विश्व व्यवस्थाको चुनौती देखेका छन् । यस अवस्थामा भारत पृथक र महत्वपूर्ण स्थानमा छ । उसको अमेरिकालगायत पश्चिमा देशहरुसँग रणनीतिक साझेदारी हुँदै गर्दा रुससँग विशेष सम्बन्ध छ ।
चीनसँग टकरावसँगै व्यापारिक सम्बन्ध छ । विश्व राजनीतिको शक्ति सन्तुलनमा भारत निर्णायक अवस्था बनाउँदै लान सकिरहेको छ । विश्वको राजनीतिक स्थिरताका लागि भारतको महत्पूर्ण भूमिका रहने परिस्थित बन्दै गएको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हुनुले पश्चिमा देशहरुले भारतलाई मित्र शक्ति मान्दछन् । अर्कोतर्फ, भारत पश्चिमाहरुले ‘तानाशाह’ ठहर गरेका पुटिन शासित रुससँग निकट सम्बन्धलाई कायमै राख्न सफल छ । रक्षा सामाग्री र प्रविधिमा साझेदार बनेर कार्य गरिरहेका भारत र रुस अन्तरीक्षमा पनि सहकार्य गर्ने सहमतिमा पुगेका छन् ।
दिल्ली पुगेका रुसी उपप्रधानमन्त्री डेनिस मेन्टुरिभ अन्तरीक्ष केन्द्रमा संयुक्त अन्तरीक्षयात्री पठाउने सम्भावनाबारे ध्यान दिइरहेको खुलाए । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले रुसी अन्तरीक्ष केन्द्र रोस्मोकोसको भ्रमण गरे यसै वर्षको मे महिनामा ।
विश्व शक्तिको केन्द्र
विश्व व्यवस्थामा आएको फेरबदलमा पूर्व र पश्चिमबीच सभ्यता, सैन्य, प्रविधि देखि व्यापारिक टकराव बढ्दै गएको छ । एक्काइसौं शताब्दी पूर्वका देशहरुको शताब्दीका रुपमा प्रक्षेपण भएको थियो । गैरपश्चिमा देशहरुको विश्व अर्थतन्त्रमा योगदान ह्वात्तै बढेको छ ।
सैन्य दृष्टिले चीन र भारत दुवैले अभूतपूर्व प्रगति हासिल गरेका छन् । विश्वको एक चौथाई जनसंख्या यीनै दुई देशमा छन् । उत्पादनसँगै खपत गर्ने जनसंख्या पनि भारत र चीनमा नै छ । यो नै उनीहरुको पृथक सामथ्र्य र शक्ति बनिसकेको छ । भारत र चीनको प्रचुर बजारका लागि प्रचुर खनिज रुससँग छ । पश्चिमलाई अथाह खनिज स्रोत बेचेर मनग्ये आम्दानी गर्ने रुस प्रतिबन्धले पूर्वतर्फ ध्यान खिच्न वाध्य छ । उसले आर्टिक महासागरको वरफिलो मार्ग समेतलाई धमाधम प्रयोगमा ल्याएर भारत र चीनसँगको व्यापारलाई अवरोधरहित बनाउन खोजिरहेछ ।
रुस तेल र ग्याँस भारत र चीनसहित वरपरको विश्वको आधा जनसंख्यामा पु¥याएर बजार सुरक्षा गर्ने रणनीतिमा केन्द्रित छ । पश्चिमा देशहरु यसलाई असफल बनाउन सबै उपाय अबलम्बन गरिरहेछन् । भारत र चीनमाथि टारिफको अमेरिकी दबाब रणनीतिको उद्देश्य यही हो । यस्तो अवस्थामा अमेरिका र पश्चिम युरोपलाई नचिढ्याउने, रुससँगको विशेष सम्बन्धलाई कायमै राख्ने अनि चीनसँगको सम्बन्ध सहज बनाउने चुनौतीमा भारत देखिन्छ ।
ब्रिक्स यसकारण पनि भारतका लागि निकै महत्वपूर्ण सावित भइरहेको छ । मोदीले घरेलु राजनीतिमा प्रभाव बढाएनन् मात्र विश्व मञ्चमा शक्तिशाली देशका प्रधानमन्त्रीको परिचय स्थापित गरे । भारत कुनैबेला पश्चिमा देशको गुलाम बनाइएको थियो, उनीहरुको प्रभाव र दबाबसामु कमजोर बनाइएको थियो । उसको पहिचानमा कायापलट भएर पश्चिमा देशलाई नै चुनौती दिनसक्ने भएको छ । विकल्पहरुमा गैरपश्चिमा संगठनहरुसँग हातेमालो गर्ने रणनीतिसम्म पुगेको छ ।















