काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि कांग्रेस सभापति गगन थापाले एउटा रोचक प्रसंग सुनाएका थिए– ‘दाइ, सबै कुरा भइसक्यो नेपालमा । आउनुप¥यो भनेर आए । कसैले संसद् पुनस्र्थापना हुँदैछ भनेर बोलाए । कसैले होइन, सबै ठीक हुँदैछ भनेर बोलाए। फेरि ढाँटे दाइ ।’
गगनले त्यतिबेला भनेको कुरा अहिले आएर ठ्याक्कै मिलेको छ । हिजो उनले सुनाएको प्रसंग आज कांग्रेसको बदलिँदो राजनीतिक दृश्य बनेर सानेपामा देखिएको छ । किनकि हिजोसम्म गगनलाई पार्टीभित्र पस्न नदिने, विशेष महाधिवेशन स्वीकार नगर्ने, छुट्टै महाधिवेशनको तयारी गर्ने देउवा पक्षका नेताहरू नै अहिले गगन नेतृत्वको बैठकमा पुग्न थालेका छन् ।
बिहीबार सानेपामा देखिएको दृश्य सामान्य थिएन । केही समयअघिसम्म अलग–अलग कित्तामा उभिएका नेताहरू एउटै बैठकमा बसे । कोही अगाडिको ढोकाबाट पुगे । कोही पछाडिको ढोकाबाट । कोही समूह बनाएर पुगे । कोही एक्लै ।
मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय ‘डिना’, रामहरि खतिवडा, गोविन्द भट्टराई, ज्ञानेन्द्रबहादुर कार्कीलगायत देउवा पक्षसँग नजिक रहेका ३५ भन्दा बढी नेता गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भए ।
अब यो दृश्यलाई केवल ‘नेताहरू बैठकमा आए’ भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन । यहाँ देउवा समूह छोडेको भन्दा पनि पार्टीको मूल प्रक्रियामा फर्किएको भनेर स्वयं नेताहरूले यसको व्याख्या गरेका छन् ।
बिहीबार सानेपाको सन्देश स्पष्ट थियो– कांग्रेसको मूलधार गगन नेतृत्वको धारतर्फ ध्रुवीकृत हुँदैछ । केही दिनअघिसम्म ’गगनले पार्टी कसरी चलाउलान्?’ भन्ने प्रश्न थियो, तर अहिले दृश्य उल्टिएको छ– ‘उनीसँग कसरी मिलेर जाने ?’ यही नै वर्तमान शक्ति समीकरणको सबैभन्दा बलियो संकेत हो ।’
गगन थापाको नेतृत्व विशेष महाधिवेशनबाट स्थापित भएको हो । यसको वैधानिकतामाथि देउवा पक्षले सुरुदेखि नै चुनौती दिँदै आएको थियो । तर निर्वाचन आयोग र अदालतसँग जोडिएका कानुनी प्रक्रियाहरू पार गर्दै गगन नेतृत्वले आफ्नो कदम अघि बढाउँदै लग्यो, र उनीहरूका अगाडिका अवरोधहरू एक–एक गर्दै हट्दै गए ।
अहिले कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । वडा, पालिका, क्षेत्रीय, जिल्ला हुँदै महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया पनि अघि बढेको छ ।
अर्कोतिर देउवा पक्षले पनि आफ्नो बाटो छाडेको छैन । उसले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
अहिले कांग्रेसभित्र दुई होइन, तीनवटा स्पष्ट धार देखिएका छन् । पहिलो– गगन नेतृत्वको असोजमा हुने महाधिवेशन । दोस्रो– देउवा पक्षले अघि सारेको मंसिरको समानान्तर महाधिवेशन । यता डा. शेखर कोइराला न गगनको प्रक्रियामा पूर्ण रूपमा मिसिएका छन्, न त देउवाको समानान्तर बाटोमा नै लागेका छन् । सबैलाई समेटेर एकताको महाधिवेशनको वातावरण नबनेसम्म दुवै प्रक्रियामा सहभागी नहुने अडान उनको पक्षले लिएको छ ।
देउवा पक्षधर मानिएका नेताहरू नै गगन थापा नेतृत्वको बैठकमा फर्किएपछि देउवाको राजनीतिक पहिलेजस्तो पकड नरहेको स्पष्ट सन्देश गएको छ । तर, यी नेताहरूले देउवासँग सम्बन्ध नै तोडेको घोषणा भने गरेका छैनन्, आफ्ना माग पूरा हुँदै गएकाले मूल प्रक्रियामा फर्किएको बताएका छन् । त्यसैले देउवा समूह पूर्ण रूपमा भत्कियो भनिहाल्नु हतार हुनेछ । अर्कोतर्फ, सानेपा फर्किएका नेताहरूलाई विजयको प्रतीकका रूपमा प्रस्तुत गर्नुको साटो देउवालाई नै आगामी असोज १६ को महाधिवेशन उद्घाटनका लागि निम्तो दिएर गगनले आफ्नो परिपक्व रणनीति देखाएका छन् ।
देउवालाई पूर्वसभापतिको सम्मानजनक भूमिकामा राख्दै सम्पूर्ण पार्टीलाई एउटै महाधिवेशनमा जोड्ने उनको यो प्रयासले ‘देउवालाई बाहिर धकेल्ने’ भन्दा पनि ‘भित्रै ल्याएर आफ्नो नेतृत्वलाई वैध र व्यापक बनाउने’ राजनीतिक सन्देश दिएको छ । यसै लचकताका कारण सानेपाको वातावरण फेरिएको छ ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टी कार्यालयको ढोकासँगै हृदयको ढोका पनि खुला रहेको बताएका छन् भने गुरुराज घिमिरे र प्रदीप पौडेल जस्ता नेताहरूले सबैलाई समेटेर अघि बढ्दा पार्टी मजबुत हुने विश्वास व्यक्त गरेका छन् । तर, डा. शेखर कोइराला अझै बीचमै उभिएका छन्, जसले दुवै पक्षको प्रक्रियामा पूर्ण रूपमा सहभागी नभई एकताको महाधिवेशनको अडान कायमै राखेका छन् । उता पूर्णबहादुर खड्कासँग जोडिएको समूह गगन नेतृत्वको प्रक्रियातिर नजिकिँदै गर्दा शेखर पक्षको फरक धारणाले आगामी समीकरणलाई अझ जटिल बनाएको छ । अब देउवाका लागि महाधिवेशनको मितिभन्दा पनि कति नेता अन्तिमसम्म आफूसँग रहन्छन् र कति सानेपा फर्किन्छन् भन्ने प्रश्न मुख्य बनेको छ ।
सानेपामा देखिएको यो उत्साह र अंकमाललाई नै अन्तिम विजय ठान्नु गगनका लागि पनि जोखिमपूर्ण हुन सक्छ । कांग्रेसभित्रको दशकौँ पुरानो गुटगत संरचना, क्रियाशील सदस्यता, प्रतिनिधि छनोट, समायोजन र आगामी नेतृत्वको भागबन्डाजस्ता जटिल प्रश्नहरू अझै बाँकी छन् । भाषण र अभिव्यक्तिमा देखिएको लचकतालाई व्यवहारमा कसरी उतार्ने, पुराना गुटका नेताहरूलाई कसरी सम्मानजनक व्यवस्थापन गर्ने र शक्ति संरचनालाई कसरी सन्तुलनमा राख्ने भन्नेमा नै गगनको असली परीक्षा हुनेछ ।
अर्कातर्फ, देउवाका लागि पनि आफ्नो प्रभाव जोगाउनु ठूलो चुनौती बनेको छ । छुट्टै महाधिवेशन घोषणा गरेर मात्र पुग्दैन; त्यसका लागि बलियो संगठन, प्रतिनिधि र समर्पित नेताहरूको साथ आवश्यक हुन्छ, जुन घेरा अहिले खुकुलो हुँदै गएको देखिन्छ । केही समयअघिसम्म ‘गगनसँग पार्टी छ कि छैन ?’ भन्ने प्रश्न उठ्ने गरेकोमा अहिले ‘पुराना नेताहरू गगनसँग कसरी जोडिँदैछन् ?’ भन्ने चर्चा हुनु नै शक्तिको दिशा बदलिएको ठूलो संकेत हो ।
अब मुख्य प्रश्न देउवा आफ्नै छुट्टै बाटोमा अघि बढ्छन् कि गगनको निम्तो स्वीकार गरी एउटै महाधिवेशनबाट पार्टीलाई अघि बढाउन तयार हुन्छन् भन्नेमा अड्किएको छ । राजनीति केवल बैठक, तस्बिर र अंकमालमा सीमित हुँदैन, यसको अन्तिम फैसला महाधिवेशनका प्रतिनिधि र संगठनले नै गर्नेछन् । सानेपाको ढोका खुल्दै गर्दा र देउवाको घेरा खुकुलिँदै जाँदा यो शक्ति पुनर्संयोजन कुन दिशामा टुंगिन्छ, त्यो भने आगामी दिनले नै स्पष्ट पार्नेछ ।















