Logo
Logo

एमाले डुब्दा ओलीको कुर्सी बच्ला ?


126
Shares

ओलीको हठ कतिसम्म ? पार्टी पत्तासाफ हुँदा पनि नेतृत्व नछाड्ने, कार्यकर्ताका प्रश्न नसुन्ने र नयाँ पुस्ताले परिवर्तन खोज्दा पनि नबदलिने ! एमालेभित्र नेतृत्व परिवर्तनको आवाज चर्किएको छ, कार्यकर्ता आत्मसमीक्षाको पर्खाइमा छन् र नेतृत्व हस्तान्तरणको माग जोडतोडले उठेको छ । तर ओली भने टसमस छैनन्, नेतृत्व छाड्ने कुरै छैन । ओलीको यही हठ, एमालेभित्र चुलिँदै गएको असन्तुष्टि र नेतृत्व जोगाउने यो रस्साकस्सीबारे आज हामी चर्चा गर्नेछौ ।

भनिन्छ– कम्युनिस्टहरू सिद्धान्त, विचार र नीतिबाट चल्छन् । तर, नेकपा (एमाले) को वर्तमान परिदृश्य नियाल्दा यो भनाइ सरासर गलत ठहरिन्छ । किनभने, त्यहाँ सिद्धान्त हराएर अध्यक्षको हठमा सीमित भएको छ । हालै एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र त्यसमा उनले देखाएको रबैयाले स्पष्ट सन्देश दिएको छ– देश जतासुकै जाओस्, पार्टीको जनआधार जतिसुकै भत्कियोस्, तर एमालेको नेतृत्व म बाहेक अरूले पाउने छैनन् ।’

प्रतिवेदनका पानाहरूमा सिद्धान्त र समाजवादका अनेकौँ आकर्षक शब्द भरिएका होलान्, तर त्यसको भित्री चुरो र नियत एउटै छ– नेतृत्व छोड्दै नछोड्ने । एकातिर नयाँ पुस्ता अर्थात् जेनजीको आँधीले पुरानो र गफाडी राजनीतिलाई बढारिरहेको छ भने अर्कोतिर एमाले उही पुरानो आत्मरति, अहङ्कार र उखानटुक्कामै सीमित देखिन्छ । 

फ्रान्सका राजा लुई चौधौंले भनेका थिए रे– ‘म नै राज्य हुँ ।’ आज एमालेभित्र अध्यक्ष ओलीको कार्यशैली हेर्दा ठ्याक्कै त्यस्तै आभास हुन्छ– ‘म नै एमाले हुँ, एमाले नै म हु ।’ पार्टीको आन्तरिक लोकतन्त्रलाई विस्तारै ’हनुमानतन्त्र’मा परिणत गरिसकेका ओलीले आफूलाई पार्टीभित्र विकल्पहीन र सर्वशक्तिमान् घोषित गराउन कुनै कसर बाँकी राखेका छैनन् । सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा पार्टी पुनर्गठनको बहस र मुद्दासमेत नउठाउन चेतावनी दिइनुले पनि यो कुरालाई प्रस्टै पार्छ ।

गत निर्वाचनमा व्यहोरेको लज्जास्पद हारको समीक्षा गर्न एमालेले देशभर कार्यकर्ताको घरदैलोसम्म पुगेर सुझाव सङ्कलन ग¥यो । पार्टी कहाँ चुक्यो, सङ्गठन किन भताभुङ्ग भयो र अब कसरी अगाडि बढ्ने भन्ने प्रश्नको उत्तर खोज्न महासचिव शंकर पोखरेल नेतृत्वको कार्यदलले प्रतिवेदन तयार पा¥यो । भुइँतहका कार्यकर्ताको स्पष्ट सन्देश थियो– एमाले बचाउने हो भने अध्यक्ष ओलीले अब मार्गप्रशस्त गर्नैपर्छ, नेतृत्व हस्तान्तरण गर्नैपर्छ । तर, कार्यकर्ताको यो प्रस्ट म्यान्डेट र तल्लो तहको आक्रोशलाई ओलीले फोहोरको टोकरीमा मिल्काइदिए । 

स्थिति कतिसम्म पुग्यो भने महासचिवको प्रतिवेदनलाई काउन्टर दिन हतार–हतार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई अघि सारियो । त्यसले पनि नपुगेर पार्टीभित्र वैचारिक र बौद्धिक नेताको छवि बनाएका प्रदीप ज्ञवालीलाई अघि सारेर २९ पृष्ठ लामो ओली–स्तुतिगान लेख्न लगाइयो । कार्यकर्ताले पार्टी सुधार्ने मार्गचित्र मागिरहेका बेला ज्ञवालीले लेखेको त्यो २९ पृष्ठे दस्तावेजमा केवल ओलीका असफलता, अहङ्कार र अक्षमताहरूलाई सुनौलो जलप लगाएर महान् उपलब्धि भन्दै व्याख्या गरियो । त्यसैले अहिले पार्टी सक्किने बाटोमा छ ।

आज एमालेको सङ्गठनात्मक ढाँचा र जनसमर्थन कुन दिशामा जाँदै छ रु यसको उत्तर खोज्न धेरै टाढा जानै पर्दैन । जनमत घट्दो क्रममा छ, युवाहरू पार्टीबाट बाहिरिँदै छन्, बौद्धिक वर्ग एमालेको नाम सुन्नासाथ तर्सिन थालेको छ र इमानदार कार्यकर्ताहरू निराश भएका छन् । तर, यी कुनै पनि कुराले अध्यक्ष ओलीलाई छोएको छैन । उनी त केवल आफ्नो कुर्सी कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा मग्न छन् ।

पार्टी सिद्धियोस् कि खरानी होस्, ओलीलाई मतलब छैन । उनलाई त केवल ‘अध्यक्ष’को बिल्ला चाहिएको छ । ओलीले एमालेलाई यस्तो स्थितिमा पु¥याएका छन्, जहाँ पार्टी कार्यकर्ताहरूले जनतामा गएर आफ्ना नेताको बचाउ गर्नै नसक्ने अवस्था बनेको छ ।

ओलीले विदेशीलाई दोष दिए, घेराबन्दीलाई दोष दिए, मिडियालाई दोष दिए, आफ्नै कार्यकर्तालाई दोष दिए । तर, आफूले गरेका असंवैधानिक कदम, सरकारमा छँदाका काण्डहरू र आफ्ना कमजोरीबारे ओलीले एक शब्द बोलेका छैनन् । ‘म सधैँ सही, अरू सबै गलत’ भन्ने यो आत्मरतिमा रमाइरहेका छन् । 

यो नयाँ पुस्ता प्रविधिको युगमा हुर्किएको छ । यसले काम, परिणाम, पारदर्शिता र वैज्ञानिक सोच माग्छ । तर, ओलीले उनीहरूलाई के दिइरहेका छन् ? उही पुरानै कथा, पुरानै उखानटुक्का, विरोधीलाई होच्याउने गालीगलौज र सुन्नेबित्तिकै दिग्दार लाग्ने ठूला–ठूला गफ ! जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनले स्पष्ट पारिसकेको छ– कामभन्दा बढी गफ गर्ने नेताहरूलाई अब जनताले पत्याउनेवाला छैनन् । तर, ओली अझै पनि आफ्नो अहङ्कारमा रमाइरहेका छन् । उनलाई लाग्छ– दुई/चारवटा ठट्टा हानेपछि, विरोधीलाई व्यङ्ग्य गरेपछि र ‘साइबर स्याल’हरूलाई सामाजिक सञ्जालमा परिचालन गरेपछि सबैलाई तह लगाइन्छ ।

ओलीको हठले प्रस्ट पारेको छ– एमालेसँग अब न कुनै नयाँ राजनीतिक दूरदृष्टि छ, न त मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने ठोस खाका नै । त्यहाँ त केवल सत्तामा कसरी फर्किने र पार्टीभित्र आफ्नो पकड कसरी निरन्तर कायम राख्ने भन्ने दाउपेच मात्रै छ ।  जब राजनीतिक दलहरू विचारशून्य हुन्छन्, जब नेतृत्वमा अहङ्कार र हठ हाबी हुन्छ र जब नयाँ पुस्ताका आशा र आकाङ्क्षालाई लतारिन्छ, तब ती पार्टीहरूको पतन अवश्य हुन्छ । इतिहास साक्षी छ– समयसँगै हिँड्न नसक्ने र आफूलाई नै अन्तिम सत्य ठान्ने नेताहरू अन्ततः सकिने निश्चित छ । र, आज एमाले र ओली पनि त्यही बाटोमा छन्

यदि एमालेका कार्यकर्ता, समर्थक र युवा पङ्क्ति अझै पनि ओलीको हठ र अहङ्कारको पछाडि अन्धो बनेर लागिरहने हो भने, यो पार्टी विसर्जन हुने निश्चित छ । जेनजी पुस्ताले ल्याएको परिवर्तनको आँधीले पुरानो राजनीतिलाई बढारिरहेको बेला, ओलीको यो ‘कुर्सीमोह’ एमालेका लागि सबैभन्दा घातक सिद्ध हुनेछ ।

ओलीले नेतृत्व छाड्लान् कि नछाड्लान्, त्यो एमालेको आन्तरिक कुरा हो । बैठकबाट आफ्नो प्रतिवेदन पारित गराउलान्, आफ्ना आलोचकलाई चुप लगाउलान्, फेरि पनि पार्टीको कमान्ड आफ्नै हातमा राख्लान् । तर एउटा कुरा भने स्पष्ट छ– कुर्सी जोगाएर मात्र राजनीति जोगिँदैन । पार्टी भनेको एउटा व्यक्तिको निजी सम्पत्ति होइन । नेतृत्व भनेको जीवनभर कब्जा गरिरहने पद पनि होइन । समय बदलिन्छ, पुस्ता बदलिन्छ, जनताको अपेक्षा बदलिन्छ । तर, नेतृत्वले समयको संकेत बुझ्न सकेन भने इतिहासले कसैलाई पर्खिँदैन ।

आज ओलीसामु प्रश्न, एमालेको अध्यक्ष को बन्ने ? भन्ने मात्रै होइन । प्रश्न त एमाले कस्तो पार्टी बन्ने भन्ने हो । पुरानै हठ, अहङ्कार र आत्मरतिमा चल्ने कि नयाँ पुस्ताको प्रश्न सुन्ने, आफ्ना कमजोरी स्वीकार्ने र आफूलाई पनि बदल्ने ? ओलीले आफ्नो कुर्सी जोगाउन सक्लान् । तर, के त्यसैगरी एमालेको जनविश्वास पनि जोगाउन सक्लान् ? अब यसको जवाफ बैठकका प्रतिवेदनले होइन, एमालेका कार्यकर्ता र अन्ततः जनताले दिनेछन् । किनकि नेता पदमा कति लामो समय बसे भन्नेभन्दा, आफ्नो समयको परिवर्तनलाई कति बुझ्यो भन्ने कुरा महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्