Logo
Logo

नारायणीको बाढीले चेतावनी तह पार गर्‍यो


252
Shares

चितवन । लगातारको वर्षापछि नारायणी नदीमा बाढीले चेतावनीको तह पार गरेको छ । आज बिहान नारायणी जलाधार देवघाट जलमापन केन्द्रमा बाढीको तह ७.४९ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।

नारायणीको जलाधार क्षेत्रका त्रिशूली, मस्र्याङ्दी, दरमखोला, कालीगण्डकी र म्याग्दीका विभिन्न जलमापन केन्द्रमा पनि बाढीले चेतावनीको तह पार गरेको छ । तल्लो तटिय क्षेत्र र नदी आसपास डुबान भईरहने होचा ठाउँका बासिन्दालाई आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासीन्दा समस्या परेका छन् । सुस्ता गाउँपालिका–५ सुस्ताको थारु टोलका घरपरिवार बाढीपछि सुस्तामै रहेको सामुदायिक भवन तथा आफन्तकहाँ आश्रय लिएका छन्। प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालकाअनुसार थारु टोलमा केही घरमा बाढी पसेपछि त्यहाँका स्थानीयवासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न आग्रह गरिएको हो ।

यस्तै बाँकेमा राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । राप्ती नदीले राप्ती सोनारीको २ नम्बर वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई जोखिम हुने गर्छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले थप पानी निरन्तर परे हुनसक्ने बाढीजन्य विपद् सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताए ।

आज पूर्वको कोशी र मधेशमा वर्षाको प्रभाव केही कम भएको छ । बागमती प्रदेशमा पनि निरन्तरको झरी रोकिएको छ । तर बेला बेला पानी पर्ने क्रम भने रोकिएको छैन । त्यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज र भोली वर्षा केन्द्रीत रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्